आफैंले गोली हान्न लगाएका धर्मगुरुलाई कुन मुद्दा चलाइने ?

२५ बैशाख २०७५, मंगलवार ०७:१५

वैशाख २५, काठमाडौं ।

आफैंले गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने भएको छ ।

आचार्य सोमबार पक्राउ परेका थिए । तर, के मुद्दा लगाउने भन्ने तय भएको थिएन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवम् एसपी अरुण बीसीले आचार्यलाई हात हतियार तथा खरखजाना मुद्दा चलाइने बताए ।

उनका अनुसार अचार्यलाई म्याद थपका लागि आजै जिल्ला अदालत लगिँदैछ ।

गोली काण्डमा प्रक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ ।

चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेका थिए ।

हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन र जनता-धर्मगुरुहरुलाई आन्दोलनका लागि उक्साउन आफूलाई गोली हान्ने योजना बनाएका थिए । आचार्यको योजनाअनुसार आफूले गोली हानेको बयान चौधरीले दिएका छन् ।

प्रहरी हिरासतमा रहेका आचार्यले भने बोल्न मानेका छैनन् ।

घटनास्थलमा भने ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा छरिएको थियो । उक्त पर्चा उनी आफैले छरेको हुन सक्ने प्रहरीको अनुमान छ ।