आज वीरगन्जमा कोरोना पुष्टि भएका सबै १७ जना एकै परिवारका

२४ बैशाख २०७७, बुधबार १७:५०

काठमाडौं । बुधबार वीरगन्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको छ।

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले संक्रमित सबै एउटै परिवारको रहेको सेतोपाटीलाई जानकारी दिए।

मेयर सरावगीका अनुसार आज थपिएका सबै संक्रमित वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार हुन्। ती पुरुष महानगरका कर्मचारी पनि हुन्।

‘उहाँहरू सबै एउटै परिवारका सदस्य हुनुहन्छ। तर त्यसमा को-को हुनुहुन्छ भन्ने कुरा खुल्न बाँकी छ।,’ उनले भने।

आज देखिएका १७ जना संक्रमितमध्ये दुई महिने शिशु पनि छन्। मेयर सरावगीले संक्रमित शिशु पनि संक्रमित पुरुषकै बच्चा रहेको जनाए।

वैशाक १४ गते महानगरपालिका-३ स्थित छपकैयामा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएपछि उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो।

संक्रमित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्रमण थप बढ्न सक्ने महानगरले जनाएको छ।

‘१२ सय बढी मानिसलाई राहत वितरण कार्यमा उहाँ सहभागी हुनुभएको भन्ने छ। त्यसलै संक्रमित संख्या यो भन्दा धेरै हुनसक्छ’ मेयर सरावगीले सेतोपाटीसँग भने, ‘तर सरकारले पर्याप्त किट पठाउन सकेको छैन।’

बुधबार १७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ। जसमा २२ जना निको भएकोमा तीन जनामा पुनः संक्रमण देखिएको छ।