आज माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाईदै

१ माघ २०७७, बिहीबार १०:००

डा डिआर उपाध्याय,

आज माघेसंक्रान्ति पर्व धुमधामका साथ मनाईँदै छ । यो पर्व विशेष गरि नेपालका थारु,मगर , छन्त्याल लगायत आदिवासीहरूले आफ्नै संस्कार र परम्पराअनुरूप मौलिक रूपमा यो पर्व धुमधामसँग मनाउँछन् । काठमाडांै उपत्यकाका आदिवासी नेवार र त्यस्तै अन्य समुदायले पनि आआफ्नै संस्कार अनुसार मनाउँदै आइरहेका छन् । हिन्दूहरूले पवित्र धार्मीकस्थल देवघाट,रुरुक्षेत्र लगायत विभिन्न स्थान र पवित्र नदी संगममा स्नान गरी देवता र पितृहरूलाई तर्पण दिई मनाउने प्रचलन रहिआएको छ ।
यस पर्वमा विशेष गरि तिलको लड्डु, घिउ, चाकु तरुल, सखरखण्ड खाएर मनाइने चलन छ । १२ महिनामा हुने १२ राशीअनुसार यो माघ महिनामा मकर राशी पर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । यो दिनदेखि रात छोटो हुँदै जाने र दिन लामो हुँदै जान्छ, यो प्राकृतिक नियम नै हो । यो दिन तराईका आदिवासी थारुहरूले माघी संक्रान्ति र तिला संक्रान्ति भन्दै धुमधामसँग मनाउने गर्छन । यो दिनदेखि थारूहरूको नयाँ वर्ष शुरु हुने भएकोले पाँच दिन सम्म रमाइलो गर्दै माघीचाड मनाउँछन् ।
थारू समुदायमा सँगुरको मासु खाएर धमार गाउँदै माघी मनाउने चलन छ । मगर समुदायले पनि माघेसंक्रान्ति चाड मनाउँछन् । यस पर्वमा विशेष गरेर धनुषवाण खेल्ने, छेलो हान्ने, वनको तरुल भ्याकुर र माछा मासु खाने र मासको दाल भात र नुन एकै ठाउँमा पकाई खिचडी बनाई खाने र खिचडी नै पितृृलाई पिण्ड दिने उनीहरुको चलन छ । यो दिन मगरहरूले आफ्ना चेलीवेटी र इष्टमित्रहरूलाई बोलाई भोज खुवाउने चलन छ । मगर समुदायले यो पर्वलाई राष्ट्रिय पर्वको रूपमा मान्दै आएका छन् । चाडपर्व भनेकै हाम्रा पहिचान हुन् । परम्परागत रुपमा मनाउँदै आएका यस्ता चाडपर्वलाई निरन्तरता दिई संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।