आगामी बैशाखमा सुन्दरीजलमा मेलम्चीको पानी

१५ पुष २०७४, शनिबार ०३:२३

पुस १५, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माण अन्तिम चरणमा प्रवेश गर्दा ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थ्रु’ भएको छ ।

शुक्रबार राति सुरुङमार्गका तीन खण्ड मध्ये दोस्रो सबैभन्दा लामो ग्याल्थुम–अम्बाथान खण्ड ८.२ किलोमिटर सुरुङले जोडिएको हो । ‘यो सँगै मेलम्ची पानी मुखैमा आइसकेको छ,’ आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने । ग्याल्थुम–अम्बाथान खण्ड ब्रेक थ्रु भएको औपचारिक घोषणा भने शनिबार आयोजना स्थलमै गएर गरिने उनले बताए । देवकोटाका अनुसार अब सिन्धु–ग्याल्थुम खण्ड मात्र सुरुङमार्गले जोडिन बाँकी छ । साढे ७ किमी लामो यो खण्डमा ५ सय मिटर भन्दा कम सुरुङ खन्न बाँकी छ ।

सबैभन्दा लामो सुन्दरीजल–सिन्धु खण्ड गत पुसमा सुरुङमार्गले जोडिएको थियो । यो खण्ड ९।४ किमी लामो छ । यहाँ अहिले सुरुङ ढलान गर्ने काम भइरहेको छ । यो खण्डमा साढे २ किमी सुरुङ संरचना ढलान भइसकेको कार्यकारी निर्देशक देवकोटाले बताए । आयोजनाको सबैभन्दा जटिल र मुख्य संरचना मानिएको साँढे २७ किमी मध्ये २७ किमी भन्दा बढी सुरुङ संरचना तयार भइसकेको आयोजनाले जनाएको छ । ‘नयाँ वर्षमा मेलम्ची पानी सुन्दरीजल खस्ने देखियो,’ देवकोटाले भने, ‘यति हुनु भनेको बहुप्रतिक्षित र बहुचर्चित आयोजना सम्पन्न हुनु बराबर हो ।’
नागरिक दैनिक