आगामी बिहिवार देखी निर्माण व्यवसायी महासंघको साधारणसभा हुने

२ आश्विन २०७५, मंगलवार १७:४९

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभा आगामी बिहिबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २० औं साधारणसभा आगामी बिहिबारदेखि काठमाडौंमा सुरु हुने औंपचारिक जानकारी गराएको हो ।

३ दिनसम्म चल्ने साधारण सभाले महासंघको तीन वर्षका लागि भावी नेतृत्व समेत चयन गर्नेछ । सर्वसम्मतिमै नेतृत्व चयन गर्नेगरी साधारणसभाको तयारीको कामलाई अघि बढाइएको महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले जानकारी दिए ।

बिहिबार प्रधानमन्त्री केपी ओलीले साधारण सभाको उद्घाटन गर्ने व्यवसायीले जनाएका छन् । शुक्रबार राजनीतिक तथा आर्थिक प्रतिवेदन पारित गर्ने र शनिबार नेतृत्व चयन गरी साधारण सभालाई सम्पन्न गर्ने कार्यतालिका तय गरिएको महासंघले जनाएको छ ।