आइतबारबाट लाइसेन्सको आवेदन खुल्दै

११ श्रावण २०७५, शुक्रबार १६:५०

साउन ११, काठमाडौं ।

झण्डै एक महिनादेखि बन्द रहेको नयाँ लाइसेन्सको वितरण आइतबारबाट खुल्ने भएको छ । लहान, वीरगञ्ज र बाग्लुङबाहेकका सबै लाइसेन्स कार्यालयका लागि साउन १३ गते आइतबारबाट अनलाइन आवेदन खोल्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । हाल हजारौं सेवाग्राही लाइसेन्सको आवेदन दिन प्रतीक्षारत छन् ।

प्रदेश २ को सरकारले भने आफूले अनुमति दिएपछि मात्रै लाइसेन्सको वितरण थाल्न विभागलाई पत्र लेखेको छ । त्यसैका कारण वीरगञ्ज र लहानस्थित कार्यालयबाट लाइसेन्सको आवेदन नखोल्ने निर्णय विभागले लिएको छ ।

प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयले पत्र लेखेर आफ्नो सहमतिविना लाइसेन्सको वितरण नथाल्न संघीय सरकारलाई अनुरोध गरेको थियो । बाग्लुङस्थित लाइसेन्स कार्यालयमा भने व्यवस्थापीकय समस्या रहेकाले लाइसेन्सको आवेदन खोल्न नसकिएको विभागका एक अधिकारीले जानकारी दिए ।

‘नरायणी, सगरमाथा र धौलागिरीका लाइसेन्स कार्यालयबाहेक सबैतिर आवेदन खुल्छ,’ ती अधिकारी भने,’आइतबारबाट अनलाइन आवेदन खुल्छ । प्रदेश २ मा भने केही समय लाग्न सक्छ ।’

काठमाडौंमा रहेका चार वटासहित अहिले प्रत्येक अञ्चलमा एक-एकवटा लाइसेन्स वितरण गर्ने कार्यालय छन् । आइतबारबाट काठमाडौंमा ४ वटै लाइसेन्स कार्यालयले समेत लाइसेन्स आवेदन खुला गर्नेछन् ।

विभागले झण्डै एक महिनाअघिबाट हिसाव मिलानका लागि भन्दै नयाँ लाइसेन्सको वितरण रोकेको थियो । प्रदेश २ ले भने लाइसेन्स वितरणको व्यवस्थापन गरेर मात्रै वितरण थाल्ने योजना बनाएको छ ।