अवैध जडीबुटीसहित पाँच पक्राउ

१७ कार्तिक २०७७, सोमबार १०:४१

लमजुङ प्रहरीले अवैध जडीबुटीसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले सदरमुकाम बेंसीशहर नगरपालिका–८ नारायनस्थानबाट तीन जना र झिङ्गेखोलाबाट दुई जनालाई पक्रिएको हो ।
पक्राउ पर्नेहरुमा नारायणस्थानबाट मनाङ नार्फु गाउँपालिका–२ बस्ने ४५ वर्षीय लाम्पा छिरिङ, मनाङ नेस्याङ गाउँपालिका–३ बस्ने २९ वर्षीय पल्मु लामा, लमजुङ दोर्दी गाउँपालिका–८ बस्ने ३१ वर्षीय जिप चालक कर्ण गुरुङ रहेका छन् भने, झिङ्गेखोलाबाट पक्राउ पर्नेहरुमा ४४ वर्षीय शान्ताकुमारी तामाङ र ४६ वर्षीय मीनबहादुर तामाङ रहेका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताउनुभयो ।
थापाका अनुसार नारायनस्थानमा भेटिएका तीन जना शनिबार हिमाली जिल्ला मनाङबाट लमजुङको नारायणस्थानतर्फ आउँदै गरेको ग१ज ७४५३ नम्बरको बोलेरो जिपमा ल्याउँदै गरेको अवैध जडीबुटी भेटिएपछि पक्राउ गरिएको र गएराति झिङ्गेखोलाका शान्ता र मीनबहादुरको घर खानतलासी गर्दा जडीबुटी भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । ७०५।५ किलो विभिन्न जडीबुटीको अनुमानित १९ लाख ३२ हजार २ सय ९० रुपियाँ रहेको छ । पक्राउ परेका पाँच जनालाई आइतबार दिउँसो डिभिजन वन कार्यालय लमजुङमा बुझाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई गोप्य सूचनाको आधारमा खानतलासी गर्दा अवैध जडीबुटी भेटिएपछि पक्राउ गरेको हो ।
मनाङबाट आएकाबाट जटामसी, बुकीफुल, धुपीपात, सुनपाती, भोजपत्र गरी २ सय १५ किलो अवैध जडीबुटी रहेको प्रहरीले जनाएको छ । त्यस्तै, झिङ्गेखोलाबाट पक्राउ परेका दुई जनाको घरबाट पाँचऔले, नीरमसी, मजिठो, पिप्ला, सतुवा, जटामसी, ढालिङ र कुड्की गरी ४ सय २८.४ किलो अवैध जडीबुटी रहेको प्रहरीले जनाएको छ ।(नेपाल समाचारपत्रबाट)