अमेरिका – इरान तनावले खाडी मुलुक जानेहरु अलमलमा परे

२४ पुष २०७६, बिहीबार १३:२६

अमेरिका र इरान तथा इराकको तनावले खाडी मुलुक जाने तयारीमा रहेका नेपालीहरु अलमल परेका छन् ।

इरान तथा इराकले साउदी र दुवइका अमेरिकी सैन्य क्याम्पहरुमा आक्रमण गर्न सक्ने आशंकाका कारण कामदारहरु अलमल परेका हुन् ।

गत शुक्रबार बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुर्द्स् फोर्सका प्रमुख जनरल कासिम सोलेमानी इराकी हिजबुल्लाका कमाण्डर अबु महदी अल मुहादिस समेत मारिएका थिए ।

त्यसपछि मंगलबारमात्रै इरानले इराकमा तैनाथ अमेरिकी सेनाको दुईवटा एयरबेसमा एक दर्जनभन्दा बढी बलिस्टक क्षेप्यास्त्र प्रहार गरेको छ ।

उनीहरुको लडाइ चर्कदै गएमा इरानले साउदी र दुवइमा रहेका क्याम्पहरुमा आक्रमण गर्न सक्ने आशंका रहेको समाचारहरु आईरहेका छन् ।

तर बैदेशिक रोजगार व्यवसायी संघले भने तत्काल असर देखिने सम्भावना नरहेकोले कामदारहरु विदेश जाने क्रम नरोकिने बताएको छ ।

संघका अध्यक्ष विष्णु प्रसाद गैरेले आशंकामात्र भएकोले सचेत रहनुपर्ने भएपनि यसबारे सरकारको निर्देशन नआएसम्म विदेश जाने क्रम नरोकिने बताए । ‘जबसम्म सरकाले रोक्दैन तबसम्म जानी आउने त भइरहन्छ’, उनले भने ‘तर सतर्कता चाहिँ अपनाउनुपर्ने देखिन्छ ।’

संघले आक्रमण भइहाल्यो भने ति मूलुकमा रहेका नेपालीलाई उद्धार गर्ने विषयमा तयारी गरिहरनुपर्ने बताए । ‘आक्रमण भइहाल्यो भने कसरी उद्धार गर्ने भन्ने विषयमा अलर्ट हुनुपर्छ,’ उनले भने ‘त्यसका लागि कामदारको तथ्यांक, उनीहरु रोजगारीमा रहेको स्थान लगायत अन्य विषयमा सहयोग गर्न हामी तयार छौँ ।’

सरकारले भने तनावग्रस्त अवस्था रहेका मुलुकहरुमा रहेका नेपालीहरुको अबस्थाबारे जानकारी लिइ र सुरक्षा सतर्कता अपनाएको जनाएको छ । (आजको अर्थबाट)