अभियुक्त घलेले मोरङमा आत्मसमर्पण गरे : सुन तस्करी प्रकरण

२० जेष्ठ २०७५, आईतवार १०:४५

जेठ २०, काठमाडौं ।

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् । उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला हुन् ।

उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले दिएको जानकारी अनुसार उनको अदालतमा बयान सुरु भएको छ ।

यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल घले भएको बयान दिएका थिए । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए ।

उनले अाफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बताएका थिए । छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान थियाे ।

खत्रीले पनि गत बिहीबार मात्रै जिल्ला अदालत, मोरङमा अात्मसमर्पण गरेका थिए । गोरेले खत्रीलार्इ पक्राउ गरे प्रकरणको धेरै कुरा सार्वजनिक हुने दाबी गरेका थिए । यद्यपि, खत्रीले अदालतमा इन्कारी बयान दिए ।

उनले प्रहरीकै एउटा गुटले अाफूविरुद्ध षड्यन्त्र गरेकाे दाबी गरेका थिए ।