अब बाइकको मूल्य बढ्ने, कति सिसीमा कति ?

१६ जेष्ठ २०७५, बुधबार १०:४१

जेठ १६, काठमााडौं ।

सरकारले बजेटमार्फत मोटरसाइकलको अन्तशुल्कसँगै सडक दस्तुर बढायो । यसले मूल्य बढ्ने त निश्चित छ । तर, प्रश्न छ कति ?

किनकी अहिले पनि धेरैका लागि मोटरसाइकल आफ्नो पहुँचको सवारी साधन हो । बढ्दो ट्राफिक जामका कारण पनि मोटरसाइकल सहज सवारी बनेको छ ।

तर, बजेटसँगै मोटरसाइकलको मूल्य ५ हजारदेखि ५ लाख रुपैयाँसम्म बढ्ने देखिएको छ ।

नयाँ करका आधारमा अब १५० सीसीसम्मका बाइकमा ५ हजार रुपैयाँ मूल्य स्वतः बढ्नेछ । अन्तशुल्कमा हेरफर नगरिए पनि सडक दस्तुरमा ५ हजार बढेको हो ।

तर, १५० सीसी भन्दामाथिका मोटरसाइकलको मूल्य भने अहिलेको तुलनामा निकै बढी हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छा २५० सीसीसम्मका मोटरसाइकलमा ३० हजार रुपैयाँसम्म मूल्य बढ्ने बताउँछन् ।

उनकाअनुसार बढेको अन्तः शुल्क र सडक दस्तुर वृद्धिका कारण १५० सीसीभन्दा माथि र २५० सीसीभन्दा तलका बाइकमा ३० हजारसम्म मूल्य बढ्ने छ ।

त्यसैगरी २५० देखिमाथि ४०१ सीसीसम्मका मोटरसाइकल ५० देखि ७५ हजार महंगो हुनेछ ।

४०१ सीसीभन्दा माथिका मोटरसाइकलको हकमा भने १ लाखदेखि ५ लाख रुपैयाँसम्म मूल्य बढ्नेछ । सीसी क्षमता जति बढी हुन्छ, त्यसैका आधारमा अन्तशुल्क लाग्ने भएकाले महंगा बाइकको मूल्य ५ लाखसम्म बढ्ने उनको भनाइ छ ।

ठूला सीसीका बाइकलाई लक्जरी मानेर सरकारले कर बढाए पनि व्यवहारिक पाटो भने नहेरिएको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष गोल्छाले बताए ।

‘पहाडी बाटोका ठूला सीसीका बाइक अति जरुरी हुन्छ । कम सीसीका बाइक सुरक्षाका मामिलामा कमजोर हुन्छन् । त्यसैले ठूला सीसीका बाइकमा कर लगाउँदा मध्यमवर्ग नै मारमा पर्ने देखिन्छ,’ गोल्छाले भने, ‘सरकारले कर बढाउने नीति लिँदा नागरिकको सुरक्षामा सम्झौता गरेको देखिन्छ ।’

पहाडी क्षेत्रका सडकहरु अझै राम्रो अवस्थामा नभएका कारण ठूला सीसीका सवारी नै चाहिने अवस्थालाई सरकारले बुझ्न नसकेको आरेप लगाए ।