अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ज्ञवाली

१५ आश्विन २०७५, सोमबार १६:०१

 

काठमाडौं– अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनर्निर्माणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजित कार्यक्रममा भाग लिएर स्वदेश फर्किएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, विभिन्न चुनौती र जटिलताका बीच पुनर्निर्माण र पुनर्स्थापनाका पक्षमा नेपालले गरेको प्रगतिको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेका छन् र निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन र विश्व बैंकद्वारा संयुक्त रुमपा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनाको अवस्था र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

उनले पुनर्निर्माण तथा पुनर्स्थापनाका कार्यहरु संविधानको व्यवस्थाअनुसार सम्भव भएसम्म स्थानीय तहबाटै गर्ने गरी अघि बढाइएको जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपालको पुनर्निर्माणका बाँकी काम सम्पन्न गर्न करिव थप ६ खर्ब रुपैयाँ लाग्ने बताउँदै आर्थिक स्रोत व्यवस्थापनमा आन्तरिक र बाह्य सहयोग आवश्यक भएको बताएका थिए ।

उनले विपद् पश्चातको पुनर्निर्माण आकस्मिक कार्य भएकाले र तत्काल वित्तीय स्रोत परिचालन गर्नुपर्ने हुँदा अन्तर्राष्ट्रिय समुदायले विपद् व्यवस्थापन कोष स्थापना गर्नु पर्ने र उक्त रकम खर्च गर्नमा सहज र सरल प्रावधान राख्नु पर्ने धारणा व्यक्त गरेका थिए ।