हिन्दू राज्य कायमको लागि भोट, काँग्रेस र राप्रपा दरबारनिकट : कमल थापा

११ मंसिर २०७४, सोमबार ०१:४८

मंसिर ११, काठमाडौं । राष्ट्रिय प्रजातन्त्रका अध्यक्ष कमल थापाले काँग्रेस र राप्रपा राजतन्त्रनिकटका समर्थक रहेको बताएका छन् ।

 

आइतबार विराटनगरमा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री समेत रहेका थापाले आफ्नो पार्टी राप्रपा र काँग्रेस दरबारनिकट रहेको बताएका हुन् ।

विपीले लिएको मेलमिलाप नीतिपछि दरबारसँग काँग्रेसको सम्बन्ध सधै मजबुत रहेको बताउँदै थापाले आफुहरुले पनि राजतन्त्रलाई समर्थन गरेका दुबै दरबारनिकट राजतन्त्र समर्थन गरेको बताए । थापाले विपीको मेलमिलाप नीतिसँगै दरबारसँग काँग्रेस र दरबारको सम्बन्ध रहेको कुरा अहिले पनि उत्तिकै मर्मका साथ बुझ्न आफ्ना मतदातालाई आग्रहसमेत गरे ।

विराटनगरको गुद्री चौकमा आयोजित सभामा सहभागीहरुलाई आग्रह गर्दै अध्यक्ष थापाले भने, ‘यसैले माया हुने सबैले लोकतान्त्रिक गठबन्धनलाई भोट हाल्नुहोला ।’ काँग्रेसको रुख चिन्हमा भोट हालेर लोकतान्त्रिक गठबन्धनलाई जिताएमा हिन्दूराज्य कायम हुने उनले दाबी गरे ।
थापाले वामपन्थी शक्तिहरुको दम्भ र घमण्डका कारण देशमा राजनीतिक जटिलता आएको आरोप लगाए । उनले राप्रपा कार्यकर्ताहरुलाई निर्देशन दिदैँ भने, ‘सबै नेताहरु काँग्रेस जिताउने अभियानमै लाग्नुहोस्, हाम्रो कोही उम्मेद्वार छैनन् ।’ अध्यक्ष थापाले देशैभरि १५७ स्थान प्रतिनिधिसभ र ३१५ स्थान प्रदेशसभा सदस्यमा राप्रपाले नेपाली काँग्रेसलाई भोट हाल्ने र माग्ने काम गरिरहेको भन्दै प्रत्यक्षमा काँग्रेस र समानुपातिकमा राप्रपालाई नै मत दिन आग्रह गरे । –नयाँ पत्रिका