स्मार्ट टेलिकमको मोबाइल इन्टरनेट (फोरजी) सञ्चालनमा ढिलाइ

२७ आश्विन २०७४, शुक्रबार ०४:५०

सोज २७, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सञ्चालनमा ढिलाइ गरेको छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्टलाई गत साउन १५ गतेबाटै फोरजी सञ्चालन अनुमति दिएको थियो । स्मार्टले आवश्यक प्रक्रिया पूरा गरेर इक्युप्मेन्ट आयात र जडान गर्न नसिकएको भन्दै दुई महिनाको थप समय मागेको थियो । प्राधिकरणले असोज १५ सम्मको समय दिएर फोरजी सञ्चालन गर्न समय दिएको भए पनि स्मार्टले भने आवश्यक तयारीमै समय खर्च भएको बताएको छ । फोरजी सञ्चालन गर्न दिएको दुई पटकको समय सकिएकाले सेवा सञ्चालन गर्न नसक्नुको उचित कारण र यसले तिर्न बाँकी शुल्क यथाशीघ्र बुझाउन स्मार्टलाइ शुक्रबार नै पत्र काटेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । उनका अनुसार समयमा नै फोरजी सेवा सुुुरु नगर्नुको कारण पत्रमार्फत माग गरिएको हो । स्मार्टले प्राधिकरणसमक्ष बुझाउनुपर्ने नवीकरण र फ्रिक्वेन्सी शुल्क करिब ५३ करोड रुपैयाँ बाँकी रहेकाले उक्त शुल्क पनि तत्काल बुझाउन ताकेता गरिएको छ ।  

 

स्मार्टले प्राधिकरणलाई तिर्नुपर्ने शुल्क पूर्ण रूपमा चुक्ता गर्ने र फोरजी सञ्चालनको एक साता अगाडि नै जानकारी दिनुपर्छ । असोज मसान्तसम्ममा फोरजी सेवा सुरु गर्ने भनिए पनि यसले अहिलेसम्म बाँकी दस्तुर तिरेको छैन । फोरजी सञ्चालन गर्ने समयसमेत निर्धारण गरेको जानकारी नदिएकाले यसको सेवा सञ्चालनमा ढिलाइ भइरहेको देखिएको हो । प्राधिकरणले दिएको समयमा सेवा सुरु गर्न नसके पनि यसलाई फोरजी अनुमति दिएकाले सोहीअनुसार फ्रिक्वेन्सी शुल्क भने सेवा सुरु भए वा नभए पनि तिर्नुपर्ने हुन्छ ।  फोरजी सेवा सुरु गर्ने समय नतोकिए पनि प्राधिकरणले गत साउन १५ पछि गर्नुपर्ने भनेर अनुमति पाएको हो । ‘स्मार्टले नै दुई महिना थप चाहियो भनेपछि हामीले उसैले मागको समय दिएका हौं । तर, अझै सेवा सुभारम्भको सुरसार गर्न सकेको छैनु, अर्यालले भने । उनका अनुसार फोरजी सेवा सञ्चालन गर्ने र हरेक तीन महिनामा प्रगति विवरण प्राधिकरण समक्ष बुझाउनुपर्छ । यसले दिने सेवा नेपालभरकै लागि हुनुपर्ने सर्त फोरजीको अनुमतिमै उल्लेख छ ।

 

स्मार्ट टेलिकमका प्रमुख कार्यकारी सजिन राजभण्डारीले भने फोरजीको इक्युपमेन्ट जडानको कार्य करिब ९० प्रतिशत सकिएकाले औपचारिक रूपमा फोरजी सेवाको घोषणा गर्न बाँकी रहेको बताए । उनका अनुसार प्राधिकरणबाट असोज मसान्तसम्ममा फोरजीको सेवा सुरु गर्ने गरी समय थप भएको छ । सोहीअनुसार तयारी गरिरहेका छौं ।
उनका अनुसार तिहारपछि औंपचारिक रूपमा नै स्मार्टको फोरजीको सुरु हुनेछ । ‘नेपाल टेलिकम र एनसेलसँग हामीले फोरजी सेवा सञ्चालन गर्दा आवश्यक पर्ने इवान लाइन कनेक्सनको टुंगो लाग्न पनि बाँकी छु, राजभण्डारीले भने,‘यो विषयमा टुंगो लागेलगत्तै स्मार्टले सरकारलाई तिर्नुपर्ने आर्थिक दायित्व पूरा गरेर मात्रै सेवा सुरु गर्नेछ ।

 

५३ करोड चुक्ता अनिवार्य
स्मार्ट टेलिकमले फोरजी सञ्चालन गर्दा प्राधिकरणलाई तिर्नुपर्ने आर्थिक दायित्व पूरा गरेर मात्रै सेवा सञ्चालन गर्नुपर्ने सर्तमा फोरजीको अनुमति दिएको छ । प्राधिकरणका अनुसार यो कम्पनीले फोरजी सेवा सञ्चालन गर्दा नवीकरण दस्तुरबापतको पाँचौ किस्ताको ३५ करोड रुपैयाँ र करिब १७ करोड फ्रिक्वेन्सी दस्तुर तत्कालै तिर्नुपर्छ । यसले युनिफाइड लाइसेन्स लिँदा किस्ताबापतको नवीकरण दस्तुर तिर्ने भनेर उल्लेख गरेअनुसार गत वैशाखभित्रै तिर्नुपर्ने यो शुल्क अझै तिरेको छैन ।

 

यो शुल्क चुक्ता नगरेसम्म स्मार्टले फोरजी सञ्चालन गर्न नपाउने भएकाले पनि नवीकरण र फ्रिक्वेन्सी शुल्क तत्काल चुक्ता गर्न प्राधिकरणले पत्र काटेको उल्लेख छ । स्मार्टलाई प्राधिकरणले १८ सय मेगाहर्जमा प्रविधि तथस्टता कायम गरेर फोरजीको अनुमति दिएको हो । स्मार्टले आफ्नो क्षेत्र विस्तार तथा गुणस्तरका सम्बन्धमा प्राधिकरणले समय समयमा दिने निर्देशनकोसमेत पूर्ण पालना गर्नुपर्ने सर्त तोकेको छ । प्राधिकरणले दिएको यस्तो प्रविधि तथस्टता अनुसार एउटै फ्रिक्वेन्सीमा जुनसुकै प्रविधिको सेवा पनि प्रयोग गर्ने सक्ने भन्ने हो । फोरजी सञ्चालनका लागि यस अघि अनुमति दिएको नेपाल टेलिकम र एनसेललाई पनि कुनै नयाँ फ्रिक्वेन्सी भने नदिएको प्राधिकरणको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्टलाई गत साउन १५ गतेबाटै फोरजी सञ्चालन अनुमति दिएको थियो ।