सुतेकै ठाउँबाट एक वृद्ध दम्पती बेपत्ता

११ फाल्गुन २०७७, मंगलवार १४:५४

जनकपुरधाम । पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवास्थित आफ्नै घरमा सोमबार राति सुतेका ६६ वर्षीय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी बेपत्ता भएका हुन् । प्रहरीका अनुसार दुवै जना छुट्टाछुट्टै कोठामा सुतेका थिए । तर मंगलबार बिहान दुवै जना घरमा थिएनन् ।

यी वृद्ध दम्पतीसँगै घरमा उनीहरुको कान्छी बुहारी पनि रहेको प्रहरीले जनाएको छ । वृद्ध दम्पतीको घरमा रगतको छिटा पनि देखापरेको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

झा दम्पती बेपत्ताबारे अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ । ‘घरबाटै बेपत्ता भएका दम्पतीको खोजी तीब्र रुपमा भइरहेको प्रदेश प्रहरी प्रमुख डीआईजी सिंहले भने, “घरमा रहेकी उनको बुहारी र स्थानीयसँग यस विषयमा सोधपुछ भइरहेको छ ।” स्थानीयका अनुसार झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन् ।

झा दम्पती बेपत्ता भएपछि उनको खोजी अबिलम्ब गर्नुपर्ने मागसहित स्थानीयले सडक अवरुद्ध गरेका छन् । स्थानीयले पिपरा गाउँपालिकास्थित जनकपुर–जलेश्वर सडक खण्डमा टायर बालेर अवरुद्ध गरेका छन् ।