साझा पार्टीले ५ बर्षभित्र देशको नेतृत्व लिनेछ : नेता खनाल

२७ कार्तिक २०७४, सोमबार ०६:१४

कात्तिक २७, काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य मुमाराम खनालले आफ्नो पार्टीले आगामी ५ वर्षभित्र देशको नेतृत्व लिने बताएका छन् ।

चुनावी प्रचार–प्रसारका दौडानमा प्रदेश नम्बर ७ को धनगढीमा बाह्रखरीसँग कुराकानी गर्दै खनालले पुराना पार्टीले राजनीतिका नाममा सुशासनलाई भत्काएको आरोप लगाए । उनले भने, “ठूला पार्टीहरुले देशका हरेक क्षेत्रमा सुशासनलाई खल्बल्याए, अब हामी सम्पूर्ण क्षेत्रमा सुशासन कायम गर्दै आगामी ५ वर्षभित्र देशको नेतृत्व लिनेछौं ।”   खनालले विवेकशील साझाले ८० स्थानमा प्रतिनिधिसभाका उमेदवार र त्योभन्दा कम स्थानमा प्रदेशसभा उमेदवार उठाएको तर संख्यात्मक रुपमा कम देखिए पनि सक्षम र कर्मशील उमेदवार उठाएको बताए ।

 

नेपालका दूरदराजसम्मै संगठन विस्तार भएको र ठूला पार्टीले ४५ वर्षमा गर्न नसकेको काम विवेकशील साझाले ४५ दिनमै गरेर देखाएको पनि उनले बताए ।  विवेकशील साझा पार्टीलाई सहरमा जन्मिएको, आदर्श विचार बोकेको पार्टी भन्ने विभिन्न पार्टीको आरोप निराधार भएको बताउँदै उनले एक वर्षभित्र गाउँ–गाउँबाट १ लाख सदस्य बनाएर पार्टीको महाधिवेशन गर्ने खनालको भनाइ छ ।  केही पार्टीहरुले विवेकशील साझाले राजनीति गर्न नजानेको आरोप लगाए पनि विवेकशील साझाले पुराना पार्टीहरुले गरेजस्तो फोहोरी राजनीति गर्न नजानेको उनले स्पष्ट पारे ।

धनगढीमा विवेकशील साझा पार्टीले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएको छ । विवेकशील साझा पा

र्टीको देशैभरि राम्रो माहोल रहेको केन्द्रीय सदस्य खनालले बताए । नयाँ पार्टीका रुपमा बनेको विवेकशील साझालाई आमजनताले प्रमुख पार्टी भएको हेर्ने चाहना राखेको पनि खनालले बताए ।