समृद्धिका लागि मुलुकले स्थिरता र स्थायीत्व पाउन जरुरी : अध्यक्ष ओली

११ मंसिर २०७४, सोमबार १३:१३

मंसिर ११, बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीच चुनावपछि पार्टी एकता हुने बताएका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नं. ५ को रुद्रपुर र भैरवामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थायीत्व र स्थिरतामार्फत समृद्ध मुलुक निर्माणको लक्ष्यमा पुग्न बाम गठबन्धन बनाइएको बताएका छन् । उनले एकता भांड्ने षडयन्त्र नगर्न चेतावनी दिए ।

संविधान कार्यान्वयनसँगै समृद्धिका लागि मुलुकले स्थिरता र स्थायीत्व पाउन जरुरी रहेको भन्दै उनले यसका लागि पनि वाम गठबन्धनले जित्नुपर्ने बताए । धन कमाउन, पैसा कमाउन, आफन्तलाई जागिर लगाइदिन र लुटेर खान नभई नभइ देश बनाउनका लागि गठबन्धन गरिएको प्रष्ट उनले पारे ।

केही दिनदेखि देश दौडाहमा रहेका एमाले अध्यक्ष ओलीले कार्यक्रम स्थलमै सिधै हेलिकोप्टरमार्फत ओर्लिएका थिए । त्यहाँ करिब आधा घण्टा सम्बोधन गरेका उनी त्यसपछि भैरहवाको सभालाई सम्बोधन गर्न पुगेका छन् ।