सबै मत परिणाम सार्वजनिक, राजविराजमा राजपा विजयी

११ आश्विन २०७४, बुधबार १५:४६

काठमाडौं, ११ असोज । सप्तरीको राजविराज नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विजय भए सँगै प्रदेश नम्बर २ मा असोज २ गते भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ ।

प्रदेश नं २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली काँग्रेस ४०, नेकपा (एमाले) १८, नेकपा (माओवादी केन्द्र) २१, राष्ट्रिय जनता पार्टी २५, संघीय समाजवादी फोरम नेपाल २६, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी हुनुभएको छ ।

यसैगरी, १३६ वटा स्थानीय तह रहेको यो प्रदेशको अन्तिम नतिजा राजविराज नगरपालिकामा संघीय समाजवादी फोरमले बाजी मारेको छ ।
राजपा नेपालका प्रमुखका उम्मेदवार शम्भु यादव चार हजार ७७४ मत प्राप्त गरी विजयी हुनभएको हो । यादवले १५ मत बढी ल्याएर विजयी भएको बताइएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका भीमराज यादवले चार हजार ७५९ मत प्राप्त गर्नुभयो । यस्तै उपप्रमुखमा राजपा नेपालका साधना झाले पाँच हजार १९५ मत प्राप्तगरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी किरण साहले चार हजार २६९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राजविराज नगरपालिका वडा नं १ मा राजपा नेपाल, २ मा संघीय फोरम नेपाल, ३ मा स्वतन्त्र, ४ मा माओवादी केन्द्र, ५ मा नेपाली काँग्रेस, ६ मा माओवादी केन्द्र, ७ मा स्वतन्त्र, ८ मा माओवादी केन्द्र, ९ मा राजपा नेपाल, १० मा राजपा नेपाल, ११ मा माओवादी केन्द्र १२ मा संघीय फोरम नेपाल, १३ मा संघीय फोरम, १४ मा राजपा नेपाल, १५ संघीय फोरम नेपाल र वडा नं १६ मा राजपा नै विजयी भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

यसअघि सप्तरीमा रहेको १७ वटा स्थानीय तहमध्ये डाकनेश्वरी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, हनुमाननगर कंकालनी नगरपालिका र रुपनी गाउँपालिकामा राजपा नेपाल नै विजयी भएको थियो ।

त्यस्तै बोदेबर्साइन नगरपालिका खडक नगरपालिका, तिरहत गाउँपालिका, महदेवा र बलान गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजय भएको छ ।

अग्निसाइ कृष्णासवरम गाउँपालिका, बेल्ही चपेना गाउँपालिका, विष्णपुर गाउँपालिका र शम्भुनाथ नगरपालिका तथा सुरुङ्गा नगरपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् । यस्तै सप्तकोशी नगरपालिका र कंचरुप नगरपालिकामा नेकपा (एमाले) र छिन्नमस्ता गाउँपालिकमा नयाँ शक्ति पार्टीले विजय प्राप्त गरेका थिए ।