व्यक्तिवादी मापदण्डले गर्दा तेस्रो पटक अन्यायमा पारियो – एमाले नेता गैरे

१९ कार्तिक २०७४, आईतवार १६:००

कात्तिक १९, काठमाडौं– नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरे यस पटक प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवै सूचीमा अटाएनन्।

उनले आफूमाथि पार्टीले तेस्रो पटक अन्याय गरेको महसुस गरेका छन् । अघिल्ला दुई संविधानसभा निर्वाचनमा पनि स्थानीय कमिटीबाट सिफारिसमा परे पनि उनी पार्टी नेताका आँखामा परेनन्।  पहिलो संविधानसभाको निर्वाचन हुँदा उनी अनेरास्ववियूका अध्यक्ष थिए । विद्यार्थीका विषयलाई संविधानसभामा उठाउन भन्दै अध्यक्षलाई सभासद बनाउने निर्णय केन्द्रीय कमिटीले गर्‍यो । तर, पार्टीका शीर्ष नेताहरुले त्यसको सुनुवाई गरेनन्।

गैरे भन्छन्, ‘त्यतिखेर शीर्ष नेताहरुले अहिले संगठनमै काम गर भनेकाले केही नभनी काममै केन्द्रित भइयो।’  दोस्रो संविधानसभाको निर्वाचनमा पनि उनी पाल्पाबाट प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा सिफारिस भए । सूची केन्द्रमा आएपछि पार्टीले उनलाई समानुपातिकको सूचीमा राख्यो।  ‘समानुपातिक उम्मेदवारका रुपमा प्रचारमा खटेँ । आफ्नो क्षेत्रमा सकेसम्म पार्टीका पक्षमा धेरै भोट ल्याउने प्रयास गरियो र सफल पनि भइयो’, उनले भने । तर, सभासद बनाउने बेला भने उनको नाम परेन।

 

त्यसरी दुई पटक पन्छाइएका उनलाई यस पटक भने ठूलो आशा थियो । भन्छन्, ‘स्थानीय कमिटीबाट सिफारिस भएर आएको थिएँ । त्यहाँका जनता र पार्टी पंक्तिको अपेक्षा पनि थियो । तर, मलाई सांसद हुन पार्टीले अयोग्य ठान्यो।’  यस पटक उम्मेदवार बन्न हरेक मापदण्डबाट योग्य रहे पनि पार्टीमा रहेको व्यक्तिवादी मापदण्डमा भने पछि परेको महसुस उनले गरेका छन् । उनी भन्छन्, ‘पार्टीका शीर्ष नेताहरुमध्ये कोहीसँग असाध्यै नजिक र कोहीसँग टाढा छैन । समान व्यवहार गरेर एमालेको सिपाही भएर खटेको छु।’

टिकट वितरणमा नेताहरुले आफू निकटकालाई समेट्न व्यक्तिवादी मापदण्ड अवलम्बन गर्दा आफू छुट्ने गरेको उनी बताउँछन्।  उनी गुनासो गर्छन्, ‘व्यक्ति हेरेर मापदण्ड बनाउने गरिएको छ । यो सच्याउनुपर्छ।