लेबनानका प्रधानमन्त्री साउदी अरब छाडे

मंसिर २, रियाद । लेबनानका प्रधानमन्त्री साद अल हरीरीले साउदी अरब पनि छाडेका छन् । साउदी अरबको रियाद भ्रमणमा रहेका बेला उनले अप्रत्याशित रुपमा प्रधानमन्त्रीे पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भने भएको छैन ।

आफूलाई मार्ने षडयन्त्रको सूचना पाएको भन्दै पद त्याग गरेका हरीरी साउदी अरबबाटै फ्रान्सको पेरिस प्रस्थान गरेको बीबीसीले लेखेको छ ।  प्रधानमन्त्री हरीरी गत नोभेम्बरमा प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी सन् २००९ देखि २०११ सम्म पनि प्रधानमन्त्री बनेका थिए । उनको बुवाको सन् २००५ मा हत्या भएको थियो । अहिले पनि त्यतिबेलाको जस्तै अवस्था आएको भन्दै हरीरीले साउदी अरबको भ्रमणबाट लेबनान नफर्किएर पेरिस प्रस्थान गरेका छन् ।

 

फ्रान्सले लेबनानको राजनीतिक संकट समाधानका लागि मध्यस्थता गर्दै आएको छ । फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोनले भनेका छन्– साउदी अधिकारीहरुसँग वार्ता गर्न हरीरीलाई पेरिस बोलाइएको छ । लेबनानका अधिकारीहरुले हरीरीलाई साउदी अरबले नियन्त्रणमा लिएको भनेर गरिएको दाबीलाई रियादले झुठो बताउँदै आएको छ । साथै उसले हरीरीलाई राजीनामा दिन दबाव दिएको आरोपको पनि खण्डन गरेको छ । लेबनानमा इरान र हिजबुल्लाहले राजनीतिक हस्तक्षेप गर्दै आएको साउदीको आरोप छ । साउदी अरब इरान र हिजबुल्लाहको कट्टर विरोधी देश हो ।


प्रकाशित | २०७४ मंसिर २ प्रकाशित ०४:००

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ