रोचक बन्दैछ काठमाडौं ४ को चुनाव

१६ मंसिर २०७४, शनिबार ०४:३८

मंसिर १६, काठमाडौं । दोस्रो चरणको निर्वाचनमा काठमाडौं ४ का दुई मेधावी युवाको प्रतिस्पर्धाले राजधानीलाई तताउँदैछ । अन्य धेरै उम्मेद्वार चुनावी मैदानमा भएपनि नेपाली काँग्रेसका युवा नेता गगन थापा र नेकपा (एमाले) का बौद्धिक युवा राजन भट्टराईबीचको चुनवी प्रतिस्पर्धा दिनदिनै झनै रोचक बन्दै गएको छ । दुवै उम्मेद्वारले प्रगतिशील र सिर्जनात्मक प्रचार प्रसार शैली तथा नाराले मतदाताको ध्यानाकर्षण उँचो बनाउँदै छ ।

काठमाडौं ४ मा वामगठबन्धनको तर्फबाट नेकपा एमालेका युवा नेता डा. राजन भट्टराई अघिल्लो पटक ठूलो मतान्तरले सोही क्षेत्रबाट विजयी नेता थापासँग प्रतिस्पर्धामा छन् । बैदेशिक मामिलामा जानकार मानिने बौद्धिक व्यक्तित्व डा.भट्टराई पहिलो पटक प्रतिस्पर्धामा छन् । सोही क्षेत्रका बासिन्दा भट्टराइले मतदाताको माया र सहयोगले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । ‘भारी मतका साथ जित्छु त म भन्दिँन तर आरामदायक मतका साथ म अगाडी छु,’ डा. भट्टराईको दाबी छ ।

‘आफू निर्वाचित भएमा मुलुको सुशासन केन्द्रीयस्तरबाटै कायम गर्ने, सबै देशसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने, मुलुकको गरीवी हटाएर यहाँको युवालाई स्वरोजगार बनाउने, शैक्षिक क्षेत्रको गुणस्तरीयतामा भूमिका निर्वाह गर्ने, आधारभूत आवश्यकता सडक, खानेपानी आदिको यथोचित विकास गर्ने प्रतिवद्धता उनले जनाए ।

नेपाल–भारत प्रबुद्ध समूहका नेपालबाट सदस्य रहेका डा. भट्टराईले लोकतन्त्र र विकासलाई सँगसँगै लग्नसके मात्र मुलुकको विकास सम्भव रहेको तर्क गरे । उनले भने, ‘काँग्रेसलाई पटक पटक बहुमत दिएर जिताउनुभयो, एक पटक वाम गठबन्धनलाई जिताएर हेर्नुस् प्रत्यक्ष अनु्भूति हुने गरी विकासको काम गरेर देखाउँछौं ।’

काँग्रेसका युवा नेता थापा आफ्नो प्रतिस्पर्धा एमालेका उम्मेद्वार डा. भट्टराईसँग भए पनि आफ्नो जित सुनिश्चत रहेको दाबी गर्छन् । चुनाव जित्नका लागि आफ्नो प्रमुख पाँचवटा एजेन्डा रहेको स्पष्ट पार्दै थापाले भने–‘संविधानको कार्यान्वयन, लोकतन्त्रकै जगमा आर्थिक समृद्धि, लगानीमैत्री सर्वसाधारणको यातायातमा सहजता, प्रदूषणमुक्त र बस्नयोग्य काठमाडौं बनाउँछु ।’

यस क्षेत्रमा आर्थिक पूर्वाधारका लागि थुप्रै काम आफूले गरेको र सम्पन्न हुन बाँकी रहेको कामका लागि पनि आफू जित्न अनिवार्य रहेको उनको तर्क छ । पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेको थापाले नागरिकको स्वास्थ्य विमा तथा शिक्षा र स्वास्थ्यको व्यवस्थापनका लागि पनि आफूले काम गरिरहेको बताउँदै अवको निर्वाचनबाट आफू जितेम ागर्न बाँकी कामलाई प्राथमिकता दिने बताए । –गोरखापत्र