लण्डन रेलमार्ग विस्फोट: घटनामा १८ जना घाइते

३० भाद्र २०७४, शुक्रबार १५:१४

दक्षिण–पश्चिम लण्डनमा शुक्रबार बिहान व्यस्त समयको बेला रेलमा भएको विस्फोटलाई आतंकवादी घटनाका रुपमा हेरिएको प्रहरीले जनाएको छ।

मेट्रोपोलिटन प्रहरीका सहायक कमिस्नर मार्क रोलीले विस्फोट गराइएको वस्तु इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) भएको बताए। घटनामा घाइते भएका १८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ।

लण्डन रेलमा विस्फोट

तीमध्ये अधिकांशलाई विस्फोटक पदार्थ पड्किएपछिको आगोको लप्काले पोलेको बताइएको छ। प्रधानमन्त्री टरिजा मेले ट्वीट गर्दै घाइतेहरु र आपत्कालिन सेवामा खटिएकाहरुप्रति सहानुभूति प्रकट गरेकी छन्। सहायक कमिश्नर मार्क रोलीले विस्फोट आइइडीका कारण भएको बताए। लण्डनका मेयर सादिक खानले संयमका लागि अपील गरेका छन्। उनले लण्डन शहर आतंकवादबाट डराउने वा पराजित नहुने बताए।

 

 

 

आतंकवादी घटना
ब्रिटेनमा गएको नौ महिनाभित्र भएको यो पाँचौं आतंकवादी घटना हो। तर यसमा कसैको पनि ज्यान गएको छैन। यसअघि भएका हमलाहरुमा ३६ जनाको ज्यान गएको थियो। गत मार्च महिनामा लण्डनको वेस्टमिन्स्टरस्थित संसद भवन बाहिर गरिएको हमलामा पाँचजनाको ज्यान गएको थियो।

त्यसपछि मे महिनामा लण्डन बाहिर म्यान्चेस्टर एरेनामा गरिएको एक आत्मघाती बम हमलामा २२ जनाको ज्यान गएको थियो।
जुन महिनाको पहिलो साता मध्य लण्डनस्थित लण्डनब्रिज र बरो मार्केटमा तीनजना हमलाकारीहरुले बाटोमा हिंडीरहेका मानिसहरुमाथि एउटा भ्यान लगेर जोताएका थिए। त्यस लगत्तै उनीहरुले नजीकैको बरो मार्केटमा मानिसहरुमाथि छुरा प्रहार गरेका थिए। सो घटनामा आठ जनाको ज्यान गयो।

हमला
सोही महिनामा लण्डनको फिन्सबेरी पार्क मस्जीदमा गरिएको हमलामा एक जनाको ज्यान गयो। यसबाहेक ब्रिटिश प्रहरीले ६ वटा संभाव्य आतंकवादी हमलाहरुलाई आफुहरुले असफल पारीदिएको जनाएका छन्। प्रहरीले शुक्रबारको घटना कसले गराएको हो ? त्यस्तै विष्फोटक पदार्थ अन्यत्र पनि छाडिएका छन् कि ? र सो घटनामा अरु कसैको पनि संलग्नता छ कि ? भन्ने बारे छानबीन गरिरहेका छन्।
अधिकारीहरुले मानिसहरुलाई सतर्क रहन तर सँधै झै नियमितरुपमा आफ्नो काममा जान पनि भनेका छन्।