राष्ट्रिय महिला फुटबल : सावित्राको १२ गोल एकै खेलमा

२० माघ २०७७, मंगलवार १४:०१

काठमाडौं ।  राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी छन्। भण्डारीको एक दर्जन गोलको मद्दतमा एपीएफ क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित गर्‍यो। ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफले लगातार छैटौँ जीत हात पारेको हो। एपीएफका लागि भण्डारीले मध्यान्तरअघिको खेलमा हाफमा पाँच तथा मध्यान्तरपछि सात गोल गरेकी हुन्। भण्डारीले खेलको पाँचौँ, ३२औँ, ३३औँ, ३४औँ, ३८औँ, ४७औँ, ५५औँ, ६२औँ, ६३औँ, ७२औँ, ७९ औँ मिनेट तथा दोस्रो हाफको इन्जुरी समयमा गोल गरेकी हुन्। उनले यसअघिका तीन खेलमा ह्याट्रिक गोल गरेकी थिइन्।

यस्तै एपीएफका लागि अनु लामाले पाँच, अनिता बस्नेतले तीन तथा सरु लिम्बु र रेनुका नगरकोटीले एक/एक गोल गरे। लिगको शीर्ष स्थानमा रहेको एपिएफको छ खेलमा १८ अङ्क छ। चौदण्डीगढी अङ्कविहीन रहँदै लिगको पुछारमा रहेको छ।