मोरङ कारागारमा रहेका ९ जना कैदीबन्दीको मृत्यु

१० कार्तिक २०७४, शुक्रबार ०४:१४

कात्तिक १०, काठमाडौं । विराटनगरस्थित मोरङ कारागारमा रहेका ९ जना कैदीबन्दीको मृत्यु भएको छ ।

 

साउन यता उनीहरुको विभिन्न रोगका कारण मृत्यु भएको हो । कारागारमा अहिले पनि विभिन्न रोगबाट एक दर्जन बढी बन्दी थलिएका छन् ।  विराटनगर कारागारका जेलर प्रेम सापकोटाका अनुसार साउन महिना यता विभिन्न रोगबाट थलिएका बन्दीको उपचारको क्रममा मृत्यु भएको हो ।  मृत्यु हुनेमा २६ देखि ६३ वर्ष उमेरका छन् । मृत्यु हुनेमा सबै पुरुष र सबैभन्दा बढी लागु औषध दुव्र्यसनीको सजाय भोगिरहेका बन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

 

विरामी पाँच जनाको नोवेल मेडिकल कलेज र कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अरु चार जनालाई उपचारका लागि काठमाडौं र भरतपुर पठाइएको जेलर सापकोटाले जानकारी दिए ।  अरु १२ जनालाई पनि काठमाडौं पठाउने तयारी भईरहेको छ । धेरैलाई श्वासप्रश्वासको समस्या देखिएको हो ।  कारागारमा ६२ महिला र उनीहरुमा आश्रित ४ बालबालिकासहित ७ सय ५६ कैदी बन्दी छन् ।