माओवादी केन्द्रले आज सरकार छाड्दै : महरा र शर्माले छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्ने

३१ आश्विन २०७४, मंगलवार ०७:२१

असोज ३१, काठमाडौं । सत्तारुढ माओवादी केन्द्र आज सरकारबाट बाहिरिने भएको छ । यस विषयमा औपचारिक निर्णयका लागि प्रचण्डले बामगठबन्धनका नेताहरुसँग परामर्श शुरु गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारबाट बाहिरिन दवाव दिएपछि माओवादीले सरकारबाट बाहिरने मनस्थिति बनाएको हो । प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग यस विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले आज नै सरकार छाड्न दवाव दिएपछि प्रचण्डले परामर्श थालेका हुन् । स्रोतका अनुसार माओवादी सरकार छाड्ने तयारीमा छ ।

माओवादीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीले आज पत्रकार सम्मेलन बोलाएका छन् । माओवादीका तर्फबाट सरकारमा नेतृत्व गरेको उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे पत्रकार सम्मेलन बोलाएका छन् । त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्माले पनि दिउँसो २ बजे नै पत्रकार सम्मेलन बोलाएका छन् ।

 

एकै दिन माओवादीका दुई मन्त्रीको पत्रकार सम्मेलनलाई चासोका साथ हेरिएको छ, जहाँ मन्त्रीहरुले सरकारबाट बाहिरिएको विषयमा विफ्रिङ गर्ने छन् ।  यसअघि माओवादीले चुनावसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय गरेको थियो । तर, पछिल्लो पटक प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापासहित आठ मन्त्री थपेपछि माओवादी मन्त्रीमाथि नैतिक दवाव शुरु भएको थियो ।

 

नयाँ मन्त्री सपथ लिएको तीन दिनसम्म पनि विनाविभागीय छन् । प्रधानमन्त्रीले माओवादीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरु हटेपछि उनीहरुलाई विभाग तोक्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतको भनाई छ ।