मधेसमा कांग्रेस र एमालेको प्रतिस्पर्धा, माओवादी केन्द्र तेस्रोमै कायम

४ आश्विन २०७४, बुधबार ०६:०२

असोज ४, काठमाडौं । प्रदेश २ को स्थानीय तह तेस्रो चरणमा सम्पन्न भएको चुनावको मतगणनमा नेपाली कांग्रेसले अग्रता बनाएको छ। नेपाली कांग्रेस ३० स्थानीय तहमा अग्रतामा छ भने त्यसपछि नेकपा एमालेको २५ स्थानमा अग्रता हुँदा माओवादी केन्द्र २२ स्थानीय तहमा मतका आधारमा अग्रतामा छ।

मधेसकेन्द्रित दलमध्ये राजपा चौथो स्थानमा अग्रता बनाउनेमा पर्छ। त्यसपछि संघीय समाजवादी फोरम जसको १५ स्थानीय तहमा अग्रता छ। लोकतन्त्रिक फोरमको ५ स्थानमा अग्रता रहेको छ।

पहिलो दलमा नेपाली कांग्रेस हुने पूर्वानुमान मिल्ने देखिन्छ। तर नेकपा एमालेको स्थिति के होला भन्ने सर्वाधिक चासोको विषय बनेको थियो। अग्रतालाई केलाउने हो भने नेकपा एमालेले मधेसका जिल्लामा सम्मानजनक स्थान लिएर अगाडि बढिरहेको छ। एमाले दोस्रो दलका रुपमा प्रदेश दुईमा उपस्थित हुन्छ भन्नेमा धेरैलाई शंका थियो। यद्यपी यो प्रारम्भिक नतिजा हो, तर एमालेको स्थान मधेसका जिल्लामा कमजोर देखिएको छैन।

तेस्रो दलमा माओवादी उभिने संकेत मिलेको छ। माओवादीका लागि पनि यो खुसीकै नतिजा हो। मधेस केन्द्रित दलभन्दा माओवादी पछाडि रहने आंकलन गरिएको थियो। तर माओवादीले मधेस केन्द्रित दलहरुलाई पछाडि पार्दै आफ्नो मजबुत स्थान मधेसमा रहेको सन्देश दिने करिव पक्का देखिन्छ। तेस्रो चरणको चुनावमा अपेक्षा गरेजस्तो मधेसकेन्द्रित दलहरुले मत पाउन नसकेको देखिन्छ।