मत परिणामलगत्तै हट्यो निर्वाचन आचारसंहिता

३ पुष २०७४, सोमबार ०३:०१

पुस ३, काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित आचारसंहिता हटाएको छ । आयोगले आइतबार विज्ञप्ती जारी गर्दै गत मंसिर १० र २१ सम्पन्न निर्वाचनका लागि भन्दै भदौ १४ देखि लगाएको आचारसंहिता हटाएको जनाएको हो ।

 

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन मतगणना कार्य सम्पन्न भएकाले आचारसंहिता लागू नरहने निर्णय गरेको प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । निर्वाचन आचारसंहिता, २०७२ को दफा १ को उपदफा (२) मा ‘यो आचारसंहिता आयोगले तोकेको निकायलाई तोकेको अवधिभर लागू हुने’ उल्लेख छ ।

आयोगले सरकार र कर्मचारी, सरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, सुरक्षाकर्मी, निर्वाचनमा संलग्न कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि आचारसंहिता लागू गरेको थियो ।  यसैगरी, आयोगले उम्मेद्वारको हकमा मनोनयन दर्ता गराएको मितिदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको थियो ।