ओली–दाहाल पार्टी एकताभन्दा देउवाको राजीनामामा केन्द्रित

१३ पुष २०७४, बिहीबार ०४:४९

पुस १३, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनका शीर्ष नेता सरकार गठन र पार्टी एकताबारे रणनिित बनाउन छलफलमा जुटेका छन् ।  निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने बताएका दुई दलबीच निर्वाचन लगत्तै पार्टी सरकारको नेतृत्वबारे विवाद बढ्न थालेपछि पार्टी नेतृत्वबीच छलफल सुरु भएको हो ।


कानुन अभावमा राष्ट्रिय सभा गठन प्रक्रिया विवादित बनेको र त्यसले सरकार गठनमा समेत असर पर्ने भएपछि राजनीतिक गतिरोध अन्त्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार ‘वान टु वान’ भेटवार्ता भएको छ ।  दुई नेताबीचको भेटमा सरकार गठन, राष्ट्रिय सभा गठन, पार्टी एकता लगायतका विषय कसरी टुंग्याउने भन्नेमा केन्द्रित भएको जनाएको छ । तर नेताहरुबीच कुनै ठोस सहमति नभएका कारण एकता संयोजन समितिको बैठक भने बस्न सकेन । यसअघि दुई शीर्ष नेता बसेर राणनीति तय गरेपछि संयोजन समितिको बैठक बस्ने नेताहरुले बताउँदै आएका थिए ।

 

अध्यक्षद्वयले पार्टी एकता प्रक्रियालाई सहज रुपमा अघि बढाउने र त्यसका लागि शुक्रबारभित्र पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेका छन् । नेकपा एमाले स्थायी समितिको यसअघि बसेको बैठकले सरकार गठन र एकता संगसंगै अघि बढाउने निर्णय गरेको थियो । एमाले बैठक अगावै बसेको माओवादी केन्द्रको सचिवालय बैठकले भने सरकार गठनपूर्व नै पार्टी एकताको टुरंगो लगाउनुपर्ने निर्णय गरेको थियो ।  दुई दलका दोस्रो तहका नेताहरुमा सरकारको नेतृत्व र पार्टी नेतृत्वका विषयमा समिति फरक–फरक धारमा सार्वजनिक भएका छन् । सरकार र पार्टीको नेतृत्व एकल वा आलोपालो गर्ने वा फरक–फरकले गर्ने लगायत विषयमा वैचारिक तथा शैद्धान्तिक विषयमा समेत छलफल अघि बढेको छैन् ।

 

दुई दलका दोस्रो तहका नेताहरुको सार्वजनिक अभिव्यक्तिले पार्टी एकतामा शंका उत्पन्न भइरहेको अवस्थामा दुई अध्यक्षले भने सहज वातावरण बनाएर एकता प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् ।  ‘दुवै अध्यक्षबीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ, ’ दाहालका प्रेस संयोजक मनहरि तिमल्सिनाले भने–‘एक÷दुई दिनमै पार्टी संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।’ –नागरिक दैनिक