पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज सरीफविरुद्ध पक्राउ आदेश जारी

९ कार्तिक २०७४, बिहीबार १६:०२

कात्तिक ९, काठमाडौं । पाकिस्तानी एक अदालतले बिहीबार पूर्व प्रधानमन्त्री नवाज सरीफविरुद्ध पक्राउ आदेश जारी गरेको छ ।

अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को वर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दवाब सिर्जना गर्न अदालतबाट सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकको भनाई छ ।

सरीफका पक्षमा वकालत गरेका कानूनविद् जाफिर खानले एएफपीलाई दिएको जानकारीअनुसार पाकिस्तानको अदालतले पूर्व प्रधानमन्त्री सरीफलाई जमानतमा छोड्न सकिने गरी भ्रष्टाचार सम्बन्धि विभिन्न दुई मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ ।

गत जुलाईमा पाकिस्तानको ७० वर्षको इतिहासमा कार्यकाल पुग्नु अगावै पदच्युत हुने १५ औं प्रधानमन्त्रीका रूपमा सरीफलाई अदालतको आदेशमा उनीमाथि लागेको भ्रष्टाचार आरोपमा हटाइएको थियो ।

भ्रष्टाचार आरोप लागेका प्रधानमन्त्री सरीफले प्रधानमन्त्री रहन पदीय मर्यादाले नदिने भन्दै उनलाई अदालतले सत्ता छोड्न र अनुसन्धान प्रक्रियामा आउन आदेश दिएको थियो । (रासस÷एएफपी)