पाँच राजनीतिक दलका शीर्ष नेताहरुको बैठक निश्कर्षमा पुग्न सकेन

७ पुष २०७४, शुक्रबार ०७:४४

पुष ७ ,काठमाण्ठौं ।
आमनिर्वाचनपछि राष्ट्रिय पार्टीको मान्यता पाएका पाँच राजनीतिक दलका शीर्ष नेताहरुको आज बसेको बैठक निश्कर्षमा पुग्न सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको राष्ट्रिय पार्टीहरुको संयुक्त बैठकमा विवादको जड राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश नै बन्यो ।

बैठकमा सरकारले अध्यादेश जारी गर्न र त्यस अनुसार राष्ट्रियसभाको निर्वाचन गरेरमात्र नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने अडान राख्यो भने एमाले र माओवादी केन्द्रका नेताहरुले पहिले सरकार गठनको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे । बैठकपछि नेताहरुले दिएको जानकारी अनुसार आजको बैठकमा कुनै सहमति जुट्न नसकेपछि पुनः बैठक बस्ने गरी बिना निर्णय बैठक टुंगिएको छ ।

हालै सम्पन्न आमनिर्वाचनपछि देखापरेको संवादहिनताको अवस्थालाई तोड्न प्रधानमन्त्रीले बोलाएको बैठकमा नेकपा एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल र पूर्वसभामुख सुवास नेम्वाङ सहभागी थिए भने नेपाली कांग्रेसबाट पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए ।

यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहालका साथै नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सहभागी थिए भने राष्ट्रिय जनता पार्टीबाट अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको राससले समाचार लेखेको छ ।