पहिरोले दुई यातायातका साधन पुर्दा तीनको मृत्यु

७ आश्विन २०७४, शनिबार ०७:३३

काठमाडौं, असोज ७ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका वडा नं ३ स्थित तिनाउ जलविद्युत्को ड्याम नजिकै खसेको पहिरो दुई यातायातका साधन पुर्दा तीन जनाको मृत्यु भएको छ ।

राजमार्गमाथिको पहाडबाट खसेको ढुंगे पहिरोले पाल्पाबाट बुटवल आउँदै गरेको ना३ख ६१९२ नंको ट्रक र लु१च ७९९४ नंको मारुती अल्टो कारलाई पुरेको थियो ।

घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । कारमा सवार गुल्मी बलेटक्सारका यमलाल ज्ञवाली, रुरु गाउपालिकाका तिलकराम भण्डारी र ट्रक चालक पाल्पा तिनाउ गाउपालिकाका माधव रानाको मृत्यु भएको हो ।

कारमा सवार भण्डारीकी श्रीमती राधिका सामान्य घाइते भएकी छन् । कारमा तीनजना र ट्रकमा एकजना सवार थिए । प्रहरीले डोजर लगाएर अवरुद्ध सडक दुवैतर्फ खुलाएको छ । हरेक वर्ष यस राजमार्गखण्डमा यस्तै पहिरो जाँदा धेरैको ज्यान गएको छ भने सो सडक हुँदै आवजजावत गर्ने यात्रुले सास्ती व्यहोर्नु परेको छ ।