नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित

१८ भाद्र २०७४, आईतवार १०:०८

भदौ १८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगित गरिएको छ । नेशनल मेडिकललाई सम्बन्ध दिएको भन्दै चौतार्फी विरोध र आलोचनापछि त्रिभुवन विश्वविद्यालयले शनिवार विज्ञप्ति जारी गरी सम्बन्धनलाई हाललाई स्थगित गरिएको जनाएको हो । मेडिकल शिक्षा सुधारका लागि भन्दै डा. गोविन्द केसीले पटक पटक अनसन बसिरहँदा पछिल्लो पटक नेशनल मेडिकल कलेजलाई त्रिविले सम्बन्धन दिएको थियो ।

‘सत्यतथ्य खोजबिन समितिको प्रतिवेदन प्राप्त नभएसम्म त्रि।वि। कार्यकारी परिषद्बाट गत साउन १२ गते अस्थायी सम्बन्धन दिने भनी गरेको निर्णय हाललाई स्थगन गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।’–त्रिभुवन विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै त्रिविले सो कलेजलाई कोही–कसैको दबाब तथा निर्देशनबाट नभई सर्वोच्च अदालतको २०७१ भदौ ३१ गते को आदेशरफैसलालाई कार्यान्वयन गर्न सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयबाट २०७४ असार २७ गते पुनः ताकेता गर्नु नपर्ने गरी लेखी आए अनुसार त्रिवि कार्यकारी परिषद्ले अस्थायी सम्बन्धन दिने निर्णय गरेको त्रिविले स्पष्ट गरेको छ ।