निर्वाचन गतिविधिमा संलग्न १२ जना विरोधीलाई इलामबाट पक्राउ

१२ मंसिर २०७४, मंगलवार ०४:३८

मंसिर १२, काठमाडौं । इलाममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाधा पुर्‍याउने भूमिकामा देखिएका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

निर्वाचन विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको हो ।   कात्तिक २७ गते माङसेबुङ गाउँपालिका–२ माईती घर भई इलाम नगरपालिका–५, भोर्लेनी बसोबास गर्ने बसुन्धरा कार्की (मुना), कात्तिक २९ गते इलाम नगरपालिका–११ का संजिप फागोलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै देउमाई नगरपालिका–८ जितपुरका मोहन बराललाई पनि कात्तिक २९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

यस्तै इलाम नगरपालिका–१ मिलगोलाईका विशाल राईलाई कात्तिक ३० गते, इलाम नगरपालिका–९ निवासी खीनामाया परियारलाई मंसिर ४ गते, देउमाई नगरपालिका–९ का अविनाश भन्ने डम्बर मगरलाई मंसिर ५ गते, इलाम नगरपालिका–७ टुडिखेलमा होटल चलाएर बस्ने संगिता फागोलाई मंसिर ७ गते, इलाम नगरपालिका–३ का अर्जुन कुमार थापालाई मंसिर ९ गते, इलाम नगरपालिका ८ की मुना भन्ने पार्वता बराललाई मंसिर ९ गते, त्यस्तै भारत जिल्ला न्यु जलपाईगोडी फुलबारी ग्रामपञ्चायत–२ नेपाली गाँउ बस्ने बताउने सुवाष तामाङलाई मंसिर १० गते, सूर्योदय नगरपालिका २ बस्ने सुमित खत्रीलाई मंसिर १० गते, इलाम नगरपालिका–६ धोविधारा बस्ने चुडामणी घिमिरेलाई मंसिर ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।