नवलपरासी १ मा त्रिपाठी र सन्तुको भिडन्त (बिगत देखि बर्तमानसम्म)

१२ मंसिर २०७४, मंगलवार ०८:१८

मो.ईजहार शेष
मंसिर १२, परासी ।

नेपालको राजनीतिमा एक प्रभावशाली नेताको नामले चिनिएका हृदयेश त्रिपाठी अहिले सुर्य चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।

एक महिना पहिला राजपा नेपालबाट असन्तुष्ट भई स्वतन्त्र राजनीतिक समुह निर्माण गरेका नेता त्रिपाठी अहिले बाम गठबन्धनसंग चुनावी तालमेल गरि सुर्य चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन् । त्रिपाठी नवलपरासीको प्रतिनिधि सभा १ मा नेता त्रिपाठी र उनका निकट प्रतिद्धन्द्धी कांग्रेसका पुर्व सांसद देवकरण कलवार (सन्तु) को कडा प्रतिस्पर्धा हुने देखिएको छ । मधेश आन्दोलनमा मधेश विरोधी नेकपा एमाले रहेको चर्काे भाषण ठोक्दै आएका नेता त्रिपाठी अहिले आफंैलाई सुर्य चिन्ह निकै प्यारो भएको छ । एमालेनै मधेशी जनताको हक–अधिकारको बाधक रहेको विभिन्न राष्ट्रिय÷अन्तराष्ट्रि संचार माध्यम र विभिन्न कार्यक्रममा एमालेलाई दोषापर्ण गर्दै आएका त्रिपाठी बामगठबन्ध सँग गठजोड गरेपछि त्यस क्षेत्रमा उँहाको आलोचना गर्नेको पनि कमि छैन । हुन त नेता त्रिपाठीका करीब ५ हजार मतदाताहरु उनले सादाबाहार लगाउने कोटको पकेटको मतदाता रहेकाले उनलाई चुनावी प्रचार प्रसारमा खासै असर नभएको सर्वसाधारणहरु बताउँछन् तर यस क्षेत्रमा कांग्रेसको पनि संगठन भने कम छैन । कांग्रेस र बाम गठन्धन दुवै पक्षका कार्यकर्ताहरु चुनाव हामी जित्दै छांै भनी दावी गर्दै आएका छ्न ।

बाम गठबन्धनको समिकरणले नेता त्रिपाठी र कांग्रेसका नेता कलवारबिचको कडा प्रतिस्पर्धा छ । चुनाव दाउमा लिन दुबै पक्षका अगुवा नेता एवं कार्यकर्ताहरु गाउँगाउँ मतदाता फकाउने कार्यमा व्यस्त छन् । नेता त्रिपाठी र नेता कलवारको चर्चा एक चिया पसल मात्र होईन गाउँगाउँमा सुन्न पाईन्छ । त्रिपाठी र कलवारको चुनावी अवस्था बारे बुझन ग्रामिण क्षेत्रका जनता पनि उत्तिकै उत्सुक छन् । ठुलो भिडभाड लिई गाउँगाउँमा पस्दै आउने यि नेताहरु उखु, डुबानकटान, बाढी, बाटोघाटो, स्वास्थ्य शिक्षा लगायतका पुरानै एजेण्डा दोह्याईरहेका छन् । तर दुबै नेताको पकड राम्रो भएकाले कस्को पक्षमा नतिजा आउँछ भन्ने आंकलन गर्न आम मतदाताहरुलाई आंकलन गर्न कठिन भएको छ ।

वि.सं.२०४८ सालदेखि २०६४ सालसम्मको निर्वाचनमा लगातार ४ पटक बाजी मार्दै आएका नेता त्रिपाठी २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा भारी मतले हारको स्वाद चाखेका थिए । यति बेला नेता त्रिपाठी चुनाव जसरी पनि दाउ पार्ने हो भनी बाम गठबन्धनबाट सुर्य चुनाव चिन्ह लिएर लडेको बताउँछन् । बिगतका निर्वाचनमा संधै जित्दै आएका त्रिपाठी दोस्रो संविधान सभामा हारेपछि उनलाई हारको पनि स्वाद निकै नमिठो भएको महशुस भईसकेको छ । उनी बामसंग नजिक भएपनि आफुले उठाउउदै आएको मधेस विभेदको मुद्दा जिवन्त रहेको, आफुलाई मधेसबाद कसैले सिकाउन नपर्ने तर्क गर्छन् । राजपाका शिर्ष नेताहरु प्रदेश ५ को स्थानिय तहको निर्वाचन बहिष्कार गराए तर उहाँहरु संविधान संसोधन बिना नै २ नम्बर प्रदेशको निर्वाचनमा भाग आफुहरुलवाई धोका दिएको आरोप नेता त्रिपाठीको छ ।

किन प्यारो भयो त्रिपाठीलाई सूर्य चिन्ह ?

बिगतमा उनी जित्दै आएका निर्वाचन क्षेत्र अहिले परिवर्तन भएकाले उनी केही फरक सोच्न बाध्य भएका हुन् । २०६४ सम्म उनले जित्दै आएको निर्वांचन क्षेत्र कोर मधेस क्षेत्र थियो । तर अहिले बर्दघाट नगरपालिका उनेको निर्वाचन क्षेत्रमा समाबेश भएको छ । अहिलेको उनको निर्वाचन क्षेत्र नं १ मा बर्दघाट नगरपालिका, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाको ४, ५, ६, ७ नंम्बर. वडाहरु पनि जोडिएका छन् । हाईवे देखि सिमासम्म बनेको नयाँ निर्वाचन क्षेत्रमा करीब ६० प्रतिशत पहाडी समुदायको बस्ती छ ।

बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिकामा एमाले जितेको छ भने प्रतापपुर र सरावल गाउँपालिकामा कांंग्रेस र फोरम लोकतान्त्रिक जितेको छ । अहिले नँया बनेको निर्वाचन क्षेत्रमा न त एमाले जित्न सक्थ्यो न त राजपाबाट हृदयेश त्रिपाठी जित्न सक्थे । अहिलेको निर्वाचन क्षेत्रमा एमालेको हाईवे क्षेत्रमा बर्चस्व छ भने दक्षिणी क्षेत्रमा राजपाको र राजपाभन्दा पनि नेता त्रिपाठीको बर्चश्व छ । तर कांग्रेसको भने सिमादेखि हाईवे क्षेत्रसम्म प्रभाव छ । अहिले चुनाव जित्न कै लागि उनि नेकपा एमालेको शरणमा जानु भएको प्रष्ट छ ।

२०७० को संविधान सभाको चनावमा नेता त्रिपाठीलाई नेता कांग्रेसका देवकरण जैसवालले राम्रैसँग पराजित गरे । तिनै कांग्रेसका नता जैसवाल फेरी त्रिपाठीका प्रतिद्धन्द्धी बनेका छन् । अहिलेको चुनावमा २०७० को चुनावको नेता जैसवालसँग बदला लिने दाउमा छन् नेता त्रिपाठी । यसैका कारणपनि त नेता त्रिपाठीलाई राजनीतिक खेलाडी पनि भन्ने गरिन्छ ।

राष्ट्रिय राजनीतिमा नेता त्रिपाठी र सन्तु

२०४८ सालको संसदीय चुनावबाट राष्ट्रिय राजनीति सुरु गरेका हुन् । २०४८ सालको निर्वाचनमा नेता त्रिपाठीले त्यती बेला निर्वाचन क्षेत्र नं. ३ बाट नेपाल सद्भावना पार्टीबाट चुनाव लडेका थिए । त्यती बेला नेपाली कांग्रेसका नन्दलाल मिश्र उनका प्रतिद्धन्द्धी थिए । उक्त चुनाव त्रिपाठीेले चुनाव जितेका थिए । २०५१ सालको मध्यवाधी संसदीय निर्वाचनमा पनि नेता त्रिपाठीेले चुनाव जिते । त्यती बेला पनि २०४८ कै निर्वाचन क्षेत्र कायम थियो । २०५१ मा नेपाल सद्भवना पार्टीबाट त्रिपाठीले १५ हजार २ सय ९७ मत प्राप्त गरेर बिजयी बने । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका त्रियोगी नारायण चौधरीले ११ हजार ७ सय २९, राप्रपाका रविन्द्रनाथ शर्माले ७ हजार ४ सय ६० र नेकपा एमालेका बृहसपति अधिकारीले ७ हजार ४ सय ५ मत प्राप्त गरेका थिए ।

यसरी त्रिपाठी ३ हजार ५ सय ६८ मतले बिजयी भए । यस्तै २०५६ सालमा पनि सोही निर्वाचन क्षेत्र नं.३ बाट नेता त्रिपाठी बिजयी भए । तत्कालीन नेपाल सद्भावनाबाट उमेदवारी दिएका नेता त्रिपाठीले निर्वाचनमा १८ हजार १ सय ३३ मत प्राप्त गरेर बिजयी बने । उनका प्रतिद्धन्द्धी उमेदवारहरु त्रियुगी नारायण चौधरी १७ हजार ३ सय ४९, एमालेका रामलखन हरिजनले ८ हजार ९ सय ८६ मत प्राप्त गरेका थिए । त्यती बेला नेता त्रिपाठी ७ सय ८४ मतले उनी बिजयी भएका थिए । यस्तै नेपालको ईतिहासमा वि.सं २०६४ पहिलो पटक भएको संविधान सभा सदस्य निर्वाचनमा पनि नेता त्रिपाठीनै बिजयी भए । त्यती बेला नेपालको निर्वाचन क्षेत्रहरु परिवर्तन भएको हो ।

त्योभन्दा पहिला ४ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा वि.सं २०६४ मा ६ वटा निर्वाचन क्षेत्र कायम भयो । २०६४ मा तराई मधेस लोकतान्त्रीक पार्टीबाट उमदेवारी दिएका त्रिपाठीले १० हजार २९ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी कांग्रेसका देवकरण जैसवाल (सन्तु) ले ९ हजार ८ सय ५६ मत प्राप्त गरे । पहिलो संविधान सभाको निर्वाचनमा जम्मा १ सय ७३ मतले नेता त्रिपाठी बिजयी भए । २०६४ सालमा उक्त निर्वाचन क्षेत्रमा तमलोपा र कांग्रेसका उमेदवारी मात्रै थियो । त्यसपछि फेरी २०७० मा भएको दोसं्रो संविधान सभाको निर्वाचनमा नेता त्रिपाठीलाई मात्रै पराजयको स्वाद चाख्न मिल्यो ।

२०६४ मा जम्मा १ सय ७३ मतले पराजित भएका कांग्रेसका देवकरण जैसवालले दोस्रो स्रंविधान सभाको निर्वाचनमा कांगं्रेसका उमेदवार जैसवालले ६ हजार १ सय ५६ मतले नेता त्रिपाठीलाई पराजित गरे । यति बेला नेता त्रिपाठीलाई पत्याउनै नसक्ने जस्तै हार भयो । २०७० को निर्वाचनमा कांग्रेसका जैसवालले १४ हजार ५ सय ८० मत प्राप्त गरे भने तमलोपाका उमेदवार हृदयेस त्रिपाठीले जम्मा ८ हजार ४ सय २४ मत प्राप्त गरे । यो नतिजाले नेता त्रिपाठीको प्रभाव बिस्तारै घट्दै गएको प्रष्ट पार्छ । नेता त्रिपाठीको विगतको चुनावी नतिजा केलाउदा उनको प्रभाव घटदै गएको प्रष्ट हुन्छ । नेता त्रिपाठीले २०५१ मा ३ हजार ५ सय ६८ मतले बिजयी भए । २०५६ मा ७ सय ८४ मतले बिजयी भए । २०६४ मा जम्मा १ सय ७३ मतले बिजयी भए र २०७० को निर्वाचनमा ६ हजार १ सय ५६ मतले पराजित भए ।

सर्वसाधारणले बुझेको नेता त्रिपाठी र २०७४ को निर्वाचन

विगतमा आफ्नो क्षेत्रका सर्वसाधरणमा अत्यन्तै लोकप्रिय रहेका त्रिपाठीको पछिल्लो समय प्रभाव घट्दै गएको यथार्थ रुपमा चित्रण हुदै गएको छ । त्यो उँहाको बिगतको निर्वाचनले पनि देखाएको छ । नेता त्रिपाठीलाई धेरैले मधेस क्षेत्रका जनताको हकहितका लागि एक बलियो नेताको रुपमा विश्वास गर्छन् । हुन त विगतमा उनि धेरै पार्टी परिवर्तन गरपनि क्षेत्रीय पार्टीमै रहे । ति पार्टीमा उनले सेकेन्ड म्यानको भुमिका निर्वाह गर्नमै माहिर रहे । फस्ट म्यान कहिले बन्न चाहेनन् । यस क्षेत्रबाट जितेर गएपछि राजधानी केन्द्रीत उनको बसाईपनि उनको राजनीति थप उत्शाह थप्न नसकेको बताईन्छ । कुनै निर्वाचन क्षेत्रका सांसदमा त्यो क्षेत्रमा त्यँहाका जनताहरुसँग कति नजिक हुने हो, सायद त्यो कुरा नेता त्रिपाठीलाई मह्त्वपूर्ण लागेन । त्यस कारणपनि यस क्षेत्रका जनताहरुले उनलाई बिकास निर्माणका बिषयमा गुनासो गर्नुभन्दा पनि उँहा आफुहरुको गाउँघरमा नआउने गरेको गुनासोनै ब्यापक छ । अहिले पनि उनको पुरानो निर्वाचन क्षेत्र उनलाई प्रत्यक्ष रुपमा नदेखेका उनका मतदातापनि धेरै छन् । तर यो कुरा नेता त्रिपाठीलाई अहिले आभास भईसकेको छ । उनी अहिलेको चुनावमा कार्यकर्ता भेटघाट र घरदैलोमा ब्यस्त छन् । उनको निर्वाचन लक्षित कार्यक्रम विगतका निर्वाचनभन्दा तिब्र छ ।

सन्तु र त्रिपाठीको भिडन्त

नेता त्रिपाठीसँग २०६४ देखि चुनावमा जुझ्दै आएका कांग्रेसका नेता देवकरण जैसवाल नै फेरी उनका प्रतिद्धन्द्धी छन् । यस्तै राजपा नेपालबाट अरुण कुमार सिंह घर्ती उमेदवार हुनुहुन्छ । तर उनका प्रतिद्धन्द्धी भनेकै कांग्रेसका जैसवाल नै हुन्. । नेता त्रिपाठीकै कारण सो क्षेत्रमा राजपा बलियो रहेको थियो । तर अहिले नेता त्रिपाठी बाम गठबन्धनबाट साझा उमेदवार भएपछि तिनका करीब ९० प्रतिशत कार्यकर्ता उनीसँगै छन् । नेता जैसवाले गत दोस्रो संविधान सभाको निर्वाचनमा भारी मतले आफुले हृदयेशलाई पराजित गरेकाले अहिले आफुनै प्रभावशाली नेता नभएको बताउँछन् । नेता जैसवालले नोपलमा जारी भएको संविधानको कार्यान्वयन र लोकतन्त्रको रक्षाका लागी कांग्रेस आवश्यक भएको बताउदै आफुले यस क्षेत्रका लागि सुस्ता जस्तो बिकट ठाउँका लागि पुलको योजना ल्याई काम सुरु गराएको, सडक सञ्जालहरुको बिकास गरेको र उँखुलाई राष्ट्रिय बालीमा सुचिकृत गराई उचित मुल्यकालागि निरन्तर पहल गरीरहेकाले यस क्षेत्रका जनताको नोकर र नेता दुबै आफुनै भएको दावी गर्दै अगामी निर्वाचनमा फेरीपनि जनताले आफुलाईनै जिताउने प्रति उनि विश्वस्त छन् ।

स्थानीय तहको नतिजा

तर हालको चुनावको नतिजा आंकलन गर्न हालै सम्पन्न स्थानीय तहको निर्वाचनलाई पनि मध्यनजर गरेर अडकलबाजीहरु भईरहेका छन् । गत स्थानीय तहको निर्वाचनमा उक्त निर्वाचन क्षेत्र अन्तर्गत पर्ने बर्दघाट नगरपालिकाको प्रमुखमा एमाले १२ हजार ८ सय १४ र कांग्रेसले ११ हजार ७७४, सुस्ता गाउँपालिकामा ३ हजार ५ सय ११ र कांग्रेसले २ हजार ९ सय ५८ मत प्राप्त गरेको छ । यस्तै प्रतापपुर गाउँपालिकामा ४ हजार ४ सय ३६, लोकतान्त्रिक फोरमले ३ हजार ३ सय २७ र एमालेले करीब १ हजार ५ सय मत प्राप्त गरेको थियो । यस्तै सोही निर्वाचन क्षेत्र अन्तर्गत रहेको सरावल गाउँपालिका वडा नंं४ मा कांग्रेसले ५ सय ४७, फोरमले ५ सय र एमालले १ सय २१ मत प्राप्त गरेको थियो । यस्तै वडा नं.५ र ६ मा फोरमको वडाध्यक्ष बिजयी भएका छन् भने ७ मा माओबादी केन्द्रका वडाध्यक्ष बिजयी भएका छन् । यी चारवटै वडामा एमालले करीब ४ सय मत प्राप्त गरेको थियो । अहिले नयाँ मतदाताहरु पनि थपिएका छन् । ति मतदाताहरु पनि निर्णायक बन्न सक्ने अनुमान गरिएको छ । यद्धपी यी सबै मतदाताहरुको प्रतिक्षाको वास्तवीक घडी मंसिर २१ गतेपछि नै समाप्त हुन्छ । तर ति क्षेत्रका जनताहरु भने जो सुकै जितेपनि आफुहरुलाई बिकास चाहिएको र नेताहरुले जनताको समस्य बुझी विकास निर्माणमा ईमान्दार भए पुग्ने बताउँछन् ।