नयाँ संरचनामा जाँदै हुलाकसेवा विभाग

१५ मंसिर २०७४, शुक्रबार ०२:०२

मंसिर १५, काठमाडौं । मुलुकको हुलाक सेवाले पुर्नजीवन पाउने भएको छ । विद्यमान शैलीलाई प्रतिस्थापन गर्दै हुलाक सेवा विभाग प्राधिकरणमा परिणत हुने भएको छ ।

सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ प्रविधि र तौरतरिका भित्रिएसंगै कामविहिन अवस्थामा पुगेको हुलाक सेवालाई नयाँ संरचना र ढाँचामा अगाडी बढाउन सूचना तथा सञ्चार मन्त्रालयले आन्तरिक तयारी थालेको छ ।   तत्कालीन अवस्थामा चिठीपत्रलगायत सूचना आदानप्रदानका लागि निकै प्रभावकारी भूमिका खेलेको हुलाक सेवालाई नयाँ काम, कर्तव्य र अधिकार रहने गरी प्रशासनिक संरचना परिवर्तन गर्न लागिएको हो । हुलाक सेवा विभागलाई प्राधिकरणको ढाँचामा लैजाने तयारी मन्त्रालयले गरेको हो । “हुलाक सेवा विभागलाई समयक्रमअनुसार परिमार्जन गर्दै द्रुत डाँक सेवा, ई–कर्मसका रुपमा अगाडी बढाउन लागिएको हुलाक सेवा विभाग निमित्त महानिर्देशक राजन पौडेलले बताए । ‘समयक्रमअनुसार सेवा प्रवाह गर्ने संघसंस्थाले आफूलाई चलायमान गर्दै लग्नुपर्ने रहेछ । नभए अस्तित्व नै संकटमा पर्ने खतरा बढेर जाने देखिन्छ । –पौडेलले भने ।

 

विभागलाई प्राधिकरणमा लैजाँदा यसको कार्यक्षेत्रमा व्यापक परिवर्तन हुन लागेको छ । द्रुत हुलाक सेवा र ई–कर्मसको अवधारणामा काम गर्ने गरी प्राधिकरणले सेवा दिनेछ । द्रुत हुलाक सेवाले वस्तु तथा विनिमयको व्यापार गर्नेछ । सो विषयमा विभागले वस्तुको आदानप्रदान कसरी र कुन मात्रामा अघि बढाउन सकिन्छ भनेर प्रारम्भिकरुपमा अध्ययन गरिरहेको छ ।  ई–कमर्सबाट मुलुकभित्र मात्र नभई अन्र्तराष्ट्रिय रुपमा नै विभिन्न वस्तु तथा सेवाको व्यापार प्राधिकरणमार्फत गर्न सकिनेछ । यसरी वस्तु खरिद गर्दा अथवा एक ठाँउबाट अर्को ठाउँमा सामना ठीक समयमा सही तरिकाले सेवा प्रवाह गर्न सकेन भने क्षतिपूर्तिसमेत प्राधिकरणले तिर्नेछ ।

अहिले हुलाकमा आम्दानी कम र कर्मचारी बढी पाल्नुपर्ने अवस्था छ । हाल विभागअन्र्तगत  २० हजार कर्मचारी कार्यरत छन्् । लगानी धेरै छ, तर आम्दानी निकै कम छ, पौडेलको भनाई छ –‘हामीकहाँ अतिरित्त हुलाकका कर्मचारी कहिल्यै अवकाश नहुने नियमन रहेको छ जसले गर्दा ८४ वर्षका कर्मचारीसमेत काम गरिरहेका छन् ।’ उनले कर्मचारीको काम उत्पादनमुखी नभएको अवस्थामा राज्यको लगानी र खर्च भने धेरै हुने बताए । कर्मचारीलाई ‘हयार एण्ड फयार’ गर्न सक्ने खालको रणनीति बनाएर विभागले काम गरिरहेको उनको भनाई छ । – नेपाल समाचारपत्र