दार्चुलाका जनताले चुनावमा चमत्कार गर्दै आश्चर्यजनक परिणाम निकाल्ने : प्रतिनिधिसभा उम्मेदवार महरा

९ कार्तिक २०७४, बिहीबार १३:३३

स्कुले जीवनमै राजनीतिमा लागेर देशको सेवा गर्ने लक्ष्य लिएका इ. जितेन्द्र सिंह महरा आज सपना साकार पार्ने बाटोमा लागेका छन् । पोखरा विश्वविद्यायबाट मास्टर इन कम्प्युटर इन्जिनियरिङ गरेका महरा एक कुशल युवा इन्जिनियर पनि हुन् । उनी इन्जिनियरको विद्यार्थी हुँदैदेखि विद्यार्थी राजनीतिमा लागेका हुन् । त्यसपछि इन्जिनियरिङ पेसा र राजनीतिलाई सँगसँगै लगभग डेढ दशक लिएर सङ्घर्ष गरे । उनी अखिल क्रान्तिकारीको इकाइ सदस्य, स्ववियु सभापति, नयाँ शक्ति विद्यार्थी युनियनको केन्द्रीय सदस्य हुँदै हाल नयाँ शक्ति विद्यार्थी युनियनकै केन्द्रीय उपाध्यक्ष र आगामी प्रतिनिधिसभा निर्वाचनमा दार्चुलाबाट नयाँ शक्ति पार्टीको तर्फबाट उम्मेदवार रहेका छन् । त्यस्तै हाल उनी एक बहुरास्ट्रिय दूरसञ्चार कम्पनीको नेपाल प्रमुख पनि रहेका छन् । प्रस्तुत छ उनीसँग आयोखबरले गरेको लिखित अन्तर्वार्ताको सम्पादित अंश ।

एउटा इन्जिनियर के कारण राजनीतिमा होमियो ?

स्कूले उमेरमा मैले  इन्जिनियर बन्छु भन्ने पनि सोचेको थिइन । त्यो उमेरमा मैले राजनीति गर्नुपर्छ भन्ने सोच आएको थियो । त्यसैले मेरो प्राथमिकता राजनीति थियो । अर्को कुरा एउटा असल राजनीतिज्ञले जति देशको विकास र सेवा गर्न सक्छ त्यति एउटा इन्जिनियरको अधिकार क्षेत्रले सक्दैन । त्यस कारण पनि म राजनीतिमा आएको हुँ । राजनीतिमा म अप्रत्यासित रुपमा आएको हैन । बढी भन्दा बढी जनताको सेवा राजनीतिबाट मात्र सम्भव छ । जति काम एउटा इन्जिनियरले गर्न सक्छ त्यो भन्दा धेरै बढी कुसल र इम्मान्दार राजनीतिज्ञले गर्न सक्छ भनेरै राजनीतिमा लागेको हँु । मैले १३ बर्ष इन्जिनियर  पेसासँग सँगै सक्रिय राजनीति पनि गर्दै आइराखेको छु । दुवै पेसाको उपुक्त संयोगबाट मात्र देश विकास गर्न सकिन्छ भन्ने मलाइ लाग्छ । अर्को कुरा एउटा राजनीति गर्नेसँग सबै पेसाको अनुभव भए अझै राम्रो हुन्छ । इन्जिनियारिङ सम्बन्धी ज्ञान भएको राजनीतिकर्मीबाट  विकास निर्माण र सूचना सञ्चार सम्बन्धी सबै किसिमको काममा राम्रो परिणाम ल्याउन सक्छ । अब राजनीतिमा जेल गएको र मान्छे मारेको अनुभव भएका भन्दा पनि विकास र प्रविधिलाई राम्रोसँग बुझेका र बुझे अनुसार काम गर्न  र गराउन सक्ने राजनीति नेतृत्वको खाँचो देखेरै पनि म राजनीतिमा लागेको हुँ । म यहीँबाट आव्हान गर्न चाहन्छु; अब राजनीतिमा पढेलेखेका इमान्दार र क्षमतावान ‘टेक्नोक्र्याट’ हरुले हस्तक्षेप गर्नुपर्छ । जेल गएका र मान्छे मारेका अनुभवी व्यक्तिहरुबाट तीव्र विकास र समृद्धि सम्भव छैन । मैले यस्तो भन्दै गर्दा पुरानो नेतृत्वको अपमान गर्न खोजेको पक्कै होइन । उहाँहरुले आफ्नो समयमा राजनीतिक परिवर्तनको लागि गरेको योगदान सम्मानजक र महत्वपूर्ण छ नै; तर विकास र समृद्धि अब उहाँहरुको हातबाट सम्भव देखिदैन ।

दार्चुलाबाट तपाईँ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ । अब भन्नुस् न दार्चुलाको राजनैतिक अवस्था र समग्र देशको राजनैतिक परिस्थिति कस्तो छ ?

देशको राजनीति जस्तै दार्चुलाको राजनीतीमा पनि धेरै बिकृतिहरु छन् । पुराना दलहरुले आफ्नो स्वार्थ सिद्ध गर्नका लागि गाउँगाउँमा मात्र हैन घरघरमा पनि विभाजनको अवस्था ल्याएका छन् । राजनीतिले समाज घर परिवार र गाउँलाई जोड्नुपर्छ तर पुराना दलहरुको राजनीतिले यहाँको समाजलाई विभाजन गरेको छ जुन एकदमै चिन्ताजनक छ । हिजो जसरी धर्म र जातको नाममा समाजलाई विभाजन गरेर केही व्यक्तिहरुले शासन गरे त्यसरी नै पुराना दलहरुले पार्टी दल वा चुनाव चिन्हको नाममा समाज र जनतालाई विभाजन गरेका छन् र शासन गरिरहेका छन् । जनता झण्डा चुनाव चिन्ह वा पार्टीको नाममा विभाजित गरिएका छन् । कुनै नेता वा पार्टीले केही गरोस् या नगरोस् केही मतलब छैन, निरन्तर आँखा बन्द गरेर समर्थन गर्ने बानी परेको छ । जसलाई परिवर्तन गर्नु मैले मुख्य कार्यभार सम्झेको छु । तर तिनीहरुलाई अन्धभक्त बनाइएको छ जुन केही नेताहरु सुनियोजित षड्यन्त्रको रुपमा लागेका मैले बुझेको छु । यो षड्यन्त्रलाई चिर्नु र जनतालाई समग्र विकास एजेन्डामा एकताबद्ध गर्नु आफ्नो प्रमुख कामको रुपमा मैले बुझेको छु । विकास, सभृद्धि, सचेतना, उच्च नैतिकता, क्रियासिलता राजनैतिक नेतृत्वमा हुनुपर्नेमा त्यसको विपरीत व्यवहार देखिन्छ जुन एकदमै खेदजनक छ । पुरानो राजनितिक दलहरुमा केही नेताहरुको सिन्डिकेट देखिन्छ जसबाट नयाँ नेतृत्व उत्पादन नै हुदैन । जसको असर नयाँ नेतृत्व उत्पादनदेखि विकास निर्माण र परिवर्तनमा प्रत्यक्ष पर्दछ । पुराना दलहरुका इम्मान्दार कार्यकर्ता नेतृत्वको कार्यशैलीले वाक्क र दिक्क भएका छन् तर तिनीहरुसँग बिकल्प नै देखिदैन । अहिलेको अवस्थालाई तीन किसिमले हेर्न सकिन्छ:

१. बाम गठबन्धन अलि बढी  ढुक्क देखिन्छ उसले जितेमा खासै आश्चर्य हुनेछैन जुन सामान्य परककणाम हुनेछ, उसले जितेमा नेताहरुको खुरापाती र बाम गठबन्धन ले जितेको ठहरीनेछ ।

२. कांग्रेस पार्टी यो चुनावमा रक्षात्मक देखिन्छ । उसले जितेमा बाम गठबन्धनले हारेको रुपमा बुझिनेछ यसलाई पनि त्यही खुरापातीको निरन्तरताको रुपमा मात्र बुझिनेछ ।

३. पुराना दलहरुमा केही नेताको मात्र सिन्डिकेट हुनु । इम्मान्दार कार्यकर्ताको जहिले पनि अवमूल्यन हुनु, कुनै पनि दलले जनताले चाहेको र आफुले बाचा गरेको जस्तो काम नगर्नुबाट जनता आफु ठगिएको महसुस गरेका छन् । त्यसैले नयाँ प्रयोग गर्ने मानसिकतामा दार्चुलावासी देखिन्छन् । यो यथार्थ हो नयाँ शक्तिको संगठन अन्य दलको तुलनामा सानो छ । तर स्वच्छ छ इमान्दार र सक्रिय छ, यसपालिको चुनावमा दार्चुलाका जनता आशचर्यजनक परिणाम देखाउन आतुर छन् । ययि नयाँ शक्तिले जितेमा त्यो चमत्कार नै हुनेछ र यो चमत्कार देखाउन दार्चुलाका जनता सक्षम छन् भन्ने मलाई लाग्छ । नयाँ शक्तिले जितेमा त्यो बैकल्पिक राजनीतिको सुरुवात दार्चुलाका जनताले गर्नेछन् भन्ने मैले सोचेको छु ।

वास्तबमा दार्चुलाका जनताले कहिले कांग्रेस कहिले एमाले त कहिले माओवादीलाई जिताएका छन् विकास र समृद्धिको आशामा । तर सबै दल जनताको परीक्षामा फेल भैसकेका छन् । फेल भैसकेका पुराना दलहरुलाई फेरि पनि जिम्मेवारी दिनु भनेको दर्चुलालाई ५ वर्ष पछाडि धल्केल्नु हो भन्ने कुरा जनताले बुझेका छन् भने केही जनतालाई बुझाउनु पनि आवश्यक देखिन्छ ।

 

एउटा अधिकार जुन पाँच वर्षमा एक पटक र आफ्नो जीवन भरी १ दर्जन पटक मात्र प्रयोग गर्न पाउनुहुन्छ त्यो कति बिशेष र महत्वपूर्ण छ, एक पटक गम्भीर भएर सोच्नै पर्छ ।

स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिको उपस्थिति त्यति राम्रो देखिएन । यसले आसन्न निर्वाचनमा केही असर त गर्छ नै । आखिर तपाईँको बहुमत भयो भने न तपाईँले दार्चुलाबासीलाई राज्यको तर्फबाट विकास योजना पार्न सक्नुहुन्छ । यदि निर्वाचित नभए के गर्नुहुन्छ ?

हाम्रो पार्टीलाई पुराना दलहरुले षड्यन्त्र गरेर आफ्नो चुनाव चिन्ह नै नपाएको अवस्थामा अरु दलसँग चुनाव चिन्ह सापटी लिएर लड्नु, चुनावको तयारी गर्ने बेला चुनाव चिन्ह प्राप्तिको आन्दोलनको लागि लड्नु पर्ने अवस्थाले पनि केही हदसम्म हामीलाई अप्ठ्यारो परेको हो । तर पनि पार्टी स्थापना भएको १ वर्ष भित्र नै ७७ जिल्लाको सबै स्थानिय तहमा  उम्मेदवारी दिनुलाई हामीले राम्रो उपत्थिति नै मानेका छौँ । रातारात हामी १ नं. को पार्टी बन्छु भनेर हामीले सोचेका थिएनौँ जसले त्यो सोचेको थियो तिनीहरुका लागि चैँ यो अलि अनपेक्षित रह्यो ।

विकास र समृद्धि तीव्र गतिमा गर्नका लागि दार्चुला जिल्लामा चमत्कारी विकास गर्नको लागि जनताले पनि तीव्र गतिमा आफुलाई परिवर्तन गर्नुपर्छ र चुनावी परिणाम पनि आश्चर्यजनक निकाल्नुपर्छ भन्ने मलाई लाग्छ । म विश्वस्त छु कि दार्चुलाका जनताले आँखा चिन्हमा मतदान गरी यसपालि चमत्कारी निर्णय गर्नेछन् र मैले पनि अहिलेसम्म अरुले गर्न नसकेको नदेखेको चमत्कारी विकास र समृद्धि दार्चुलामा ल्याउनेछु । अब यदि निर्वाचन मेरो अपेक्षाभन्दा फरक भएमा म दार्चुलाबासी र देशभन्दा टाढा जाने छैन । जनताको सेवाका लागि राजनीतिमा प्रवेश गरेको हुँ । जनताकै सेवामा लाग्ने छु ।

दार्चुला सुदूर । सुन्दैमा विकास हुन नसकेको । तपाईँले यातायात अर्थात् मोटर बाटोमा आफ्नो प्राथमिकता भएको कुरा सामाजिक सञ्जालमा बेलाबेलामा भन्दै आइरहनु भएको छ । के बाटो पुगेर मात्र विकास हुन्छ भन्ने हुन्छ र ? त्यहाँ लाभदायी बहुसङ्ख्यक जनताले त्यसको भरपुर प्रयोग गर्नु पर्दैन ? यो सँगै अन्य विकासका लागि तपाईँको के प्रतिबद्धता छ ?

केन्द्रीय शासनबाट दार्चुला जिल्ला सुदूर नै परेको छ । आजसम्म दार्चुला जिल्लाका नेता मन्त्रीसम्म भए । ठुलै दलका ठुलै नेता पनि भए तर दार्चुलाका जनताले आफ्नो कुनै नेता मन्त्री भएको व्यवहारिक अनुभूति गर्न सकेनन् । दार्चुला जिल्लालाई विकसित रास्ट्रको विकसित जिल्ला सरह बनाउने मेरो उदेश्य रहेको छ ।

बिकासको लागि भौतिक विकास सँगसँगै  जनताको व्यवहार र मानसिकता विकास हुन पनि आवश्यक छ । सर्बप्रथम चेतनाको विकास गरिनेछ । सामाजिक र सांस्कृतिक विकास गरिनेछ । जनतालाई  जिउने कला सिकाइनेछ । प्रत्येक जनताको चेतना र मानसिक  विकास गरिसकेपछि भौतिक विकास गर्न धेरै बेर लाग्ने छैन । स्वच्छ र स्वस्थ नागरिक बस्ने दार्चुला जिल्ला स्वस्थ स्वच्छ र बिकसित बन्ने छ । राजनैतिक नेतृत्व इमान्दार भए कर्मचारी इमान्दार हुन्छन्, राम्रो नेता राम्रो कर्मचारी र असल नागरिक मिलेर काम गर्ने वातावरण बने दार्चुला जिल्ला विकसित जिल्ला हुनेछ । विकासका योजना कुनै पनि दलका नराम्रा छैनन् तर ती दल र नेताहरुमा काम गर्न सक्ने आत्माविश्वास ज्ञान दक्षता र इमान्दारिताको कमी देखिन्छ । ती कमी कमजोरीहरुलाई हटाइनेछ ।

दार्चुलामा अन्य पार्टीसँग चुनावी तालमेलको सम्भावना कतिको छ ? भएमा कोसँग सम्भावना छ ?

नयाँ शक्ति पार्टी नेपाल वैकल्पिक राजनीतिक अभियानको मूलधार हो । पुराना दलहरु नै राम्रो बन्न सक्ने सम्भावना भएको भए नयाँ राजनैतिक दल खोल्न आवश्यक नै थिएन । पुराना दलहरुबाट विकास र समृद्धि दु्रत गतिमा सम्भव छैन भन्ने निष्कर्ष सहित म यो पार्टीमा लागेको हुँ । अन्य दलहरु हाम्रो पार्टीले अघि सारेको पाँच ‘स’ र समुन्नत समाजवादमा विश्वास राखेर आफ्ना पुराना खराब राजनैतिक संस्कार त्यागेर आउँछन् भने हामी पछाडि हट्दैनौँ तर त्यो सम्भावना देखिदैन त्यसैले दार्चुलामा तालमेलको सम्भावना देखिदैन ।

बिलकुलै नयाँ प्रणाली र पाँच ‘स’ सिद्धान्त लिएर अभियानमा हिँडेको पार्टीको विद्यार्थी सङ्गठनको पहिलो महाधिवेसनमा आफैले बनाएको विधानविपरति कार्यसमिति चयन गरेको भन्ने बाहिर आएको छ । युवाहरू भएको सङ्गठनभित्रै यसरी आफ्नै विधानविपरीत जाने हो भने कसरी पाँच ‘स’ सिद्धान्त पूरा गर्ने नेतृत्वको विकास होला ?

नयाँ शक्ति विद्यार्थी युनियन आफ्ना मुद्धा र आन्दोलनले वैकल्पिक विद्यार्थी संगठन हो भन्ने पुष्टि भैसकेको छ । अरु संगठन जसरि बद्नाम भएका छन् तिनीहरुको माझमा हामी गर्वका साथ फरक र बैकल्पिक छौँ भन्न सक्छौ ।

हैन तपाईँले भनेको जस्तो विधान विपरीत हाम्रो कार्यसमिति बनेको छैन । तर प्राविधिक हिसाबले केही सङ्ख्यात्मक कुरामा अलि कति नमिलेको छ नै । हाम्रो संगठन हामीले नै बनाएको विधानको मूल मर्म र भावना अनुसार नै बनेको र काम गरिरहेको छ । नयाँ शक्ति विद्यार्थी युनियन बैकल्पिक राजनीतिको मूल मर्म र भावनाका साथ अगाडि बढिरहेको छ । बैकल्पिक राजनीति स्थापित गर्नको लागि हाम्रो संगठन  कारखाना  बन्ने  छ  र  बढी  भन्दा  बढी  बैकल्पिक राजनीतिको धार सम्हाल्ने नेताहरु जन्माउने छ ।

बाम गठबन्धनमा समावेश एक पार्टी थियो नयाँ शक्ति । तर बाबुरामले गोरखा–२ मा उठ्न नपाएकै कारण अघोषित रूपमा गठबन्धनबाट बाहिरियो । त्यत्रो त्याग गर्न सक्ने नेताले त्यति त्याग गर्न सक्दैन थिए र ?

हो हामीले एमाले र माओवादी नदिका दुई किनार जस्ता पार्टीहरु एक हुने कुरा गर्दैछन् भने अवश्य पनि त्यहाँ केही राम्रो नियत छ कि जस्तो लागेको थियो र हामी पनि किन मेलमिलाप र एकताको विरोधी हुने भन्ने सोच्यौँ । त्यसैले हतार हतार बाम एकतामा सामेल भयौँ । तर बिडम्बना त्यहाँ एक हुने त कुरै छोडौँ जनतालाई मुर्ख बनाई चुनाव जित्ने रणनीति बाहेक केही देखिएन । बाबुरामलाई आफ्नै गृह जिल्लाबाट चुनाव लड्न नदिएर सङ्कीर्णताको परकास्ठा देखाए । त्यो ठुलो कुरा थिएन तर एकताको भावना कहीँ कतैबाट नदेखिए पछि र बाम गठबन्धन चुनाव जित्ने छल मात्र देखेपछि हामी बाहिरिएको हो ।

कुरा त्यागको । सबै भन्दा त्याग गर्ने त बाबुराम हुन् । बाबुराम नै हुन् जो पढाईमा अब्बल हुँदा हुदै पनि र उज्ज्वल भविष्य बनाउने आधार हँुदाहँुदै पनि आफ्नो जीवनको प्रवाह नगरी जनयुद्धमा होमिए । हुँदखादाको माओवादी पार्टीको उपाध्यक्ष पद छोडेर आए । अझ संविधान निर्माण गरिसकेर आफ्नो सांसद पद नै त्यागेर नयाँ सिराबाट राजनीति सुरु गर्ने अठोटले बैकल्पिक राजनीतिको सुत्रधार गर्नु भयो । अब कति त्याग्ने ? अरूले पनि त उहाँबाट केही सिक्नुपर्छ नि ! फेरि उहाँ त्यहाँ जन्मिनुभएको । आफ्नो जन्मभूमि छाडेर कहाँ जाने ? त्यसैले पनि उहाँको नैसर्गिक दाबी हो ।

तपाईँले सामाजिक सञ्जाल मार्फत् विवाह नगरी राजनीतिमा लागेर समाजसेवा गर्छु भनेर उद्घोष गर्नु भएको छ । विवाह गर्दा चाहिँ समाज सेवा गर्न सकिन्न र ? विवाहपछि पनि कयौँले राजनीति गरिरहेकै छन् त ! मानौँ तपाईँले जस्तै सबै युवाले त्यसो गरे यो संसार कस्तो होला ? कल्पना गर्नु भएको छ ?

हो एक पटक मैले त्यसो भनेकै हुँ । विवाह गरेर पनि समाज सेवा गर्न सकिन्छ तर जति समाज सेवा विवाह नगरेको मान्छेले गर्न सक्छ त्यति निः स्वार्थ सेवा  विवाह गरेको मान्छेले गर्न सक्दैन जस्तो लाग्छ । जस्तो कि हामी एकै पटक धेरै काम त गर्न सक्छौँ । तर जति राम्रो परिणाम एउटा मात्र काम गर्दा निकाल्न सक्छौँ त्यति धेरै काम सँगै गर्दा निकाल्न सक्दिनौँ । त्यो बेला मात्र समाजको लागि जीवन अर्पण गरौँ भन्ने भावना आएकोले मैले त्यस्तो लेखेको हो ।

हो कल्पना गर्न सकिन्छ सबैले यस्तो गरे यो संसार कस्तो होला भन्ने । तर कल्पना अलि व्यवहारसँग मिल्ने गर्नु पर्छ जस्तो लाग्छ । तपाईँले भने जस्तो अवस्था अहिले विश्वको देखिदैन । जनसङ्ख्या दिनानुदिन  बढिरहेको छ र मेरो जस्तो घोषणा गर्ने त्यस्तो विश्वको जनसङ्ख्या नै समाप्त  हुने गरी छैन पनि । विश्वको जनसङ्ख्या लगभग ६ अर्ब जस्तो छ मैले विवाह नगर्दैमा मानव जाति समाप्त हुने छैन भनेर मैले आफ्नो फेसबुक वालमा पनि भनेकै छु । जुन यथार्थ  पनि हो । अझै यस्तो घोषणा केही युवा युवतीले गरेमा विश्वको जनसङ्ख्यालाई खासै केही असर पर्ने छैन ।

अर्को कुरो यो घोषणा गर्नुको पछाडि कारण पनि थियो । जबसम्म राजनीतिक सन्यासीहरू जन्मदैनन् तबसम्म बिक्रित र स्वार्थी राजनीति सुद्रिदैन भन्ने पनि लागेको थियो । सम्पूर्ण जीवन नै राजनीति मार्फत समाज सेवा गर्ने एउटा ठुलो जमात तयार नभएसम्म निस्वार्थ राजनीतिको सुरुवात हुँदैन जस्तो पनि लागेकै हो । मेरो प्रस्ताव त पूर्ण तय आफ्नो सम्पत्ति जीवन समय नै राजनीति मार्फत् समाज सेवा गर्ने राजनीतिका स्वयंसेवकहरुले मात्र राजनीति गर्नुपर्छ जस्तो लाग्छ ।

अन्त्यमा तपाईँलाई सोध्न बिर्सेका र तपाईँलाई भन्न मन लागेका केही कुरा छन् कि ? अनि मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?

दार्चुलाका मतदाताहरुसँग मेरो एउटा अनुरोध नै छ; मंसिर १० गतेको चुनावमा म जनतालाई चमत्कारी परिणाम ल्याउन र आफ्नो शक्ति देखाउन अनुरोध गर्न चाहन्छु ।

यही मंसर १० गते तपाईँले आफ्नो मत हाल्ने अथवा भोट हाल्ने दिन आउँदैछ ।  एउटा अधिकार जुन पाँच वर्षमा एक पटक र आफ्नो जीवन भरी १ दर्जन पटक मात्र प्रयोग गर्न पाउनुहुन्छ त्यो कति बिशेष र महत्वपूर्ण छ, एक पटक गम्भीर भएर सोच्नै पर्छ । यसबाट प्रष्ट हुन्छ तपाईँले दिने एक भोटको मूल्य केही हजार वा एक दुई दिनको भोज नभएर अमूल्य छ ।तपाईँको एक भोट नै हो जसले जनतालाई नेता र नेतालाई जनता बनाउन सक्छ । तपाईँको त्यही एक भोट हो जसले एउटा सामान्य नागरिक सांसद, मन्त्री प्रधान्मन्त्री वा रास्ट्रपति बन्न सक्दछ र खरबौँ रुपैयाँमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्दछ । जसबाट तपाईँको जीवन स्तर विकसित राष्ट्रको जनता सरह बन्न सक्छ भने दार्चुला जिल्ला विकसित राष्ट्रको विकसित जिल्ला सरह । खाँचो छ त केवल एक सही निर्णयको जुन तपाईँले मंसिर १० गते गर्नुपर्ने छ ।

तपाईँको त्यही एक भोट हो जसले निर्धारण गर्नेछ अहिलेकै कमजोर असक्षम नेतृत्व र भ्रष्ट्रचारी व्यवस्थालाई नै निरन्तरता दिने वा निरन्तरतामा क्रम भंगता गर्दै नयाँ सक्षम तीव्र विकास र समृद्धि  गर्न सक्ने नयाँ युवा नेतृत्व चयन गर्ने । तपाईँको हातमा युगान्तकारी परिवर्तन गर्न सक्ने शक्ति छ । जसको प्रयोग मंसिर १० गतेको चुनावमा गर्नुहुनेछ र दार्चुलाको चुनावी परिणाममा चमत्कारी निर्णय गर्नुहुनेछ भन्ने विश्वास फेरि पनि दोहो¥याउन चाहन्छु ।