डाक्टरहरूले दिने परामर्श तथा जाँच शुल्क बढ्यो

५ फाल्गुन २०७७, बुधबार १७:०७

काठमाडौं । अस्पतालले आफूखुसी दिएको तलब बुझिरहेका निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को आज बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो ।

निजी अस्पतालमा काम गर्नेहरूले पनि सरकारी सरहको सुविधा पाउन सकून भनेर न्यूनतम तलब तोकिएको संघका अध्यक्ष डाक्टर लोचन कार्कीले जानकारी दिए । उनका अनुसार यसअघि निजी संस्थामा न्यूनतम तलबमा एकरूपता थिएन । धेरैले निकै कम तलब दिने गरेको संघमा उजुरी परेको थियो । त्यसकारण न्यूनतम शुल्क तोक्नु परेको हो ।‘अफिनले उक्त निर्णय कार्यान्वयनमा ल्याउन निजी अस्पतालहरूमा पत्राचार गर्ने तयारी गर्दैछौं’ कार्कीले भने । संघ र अफिनको आज बसेको बैठकले डाक्टरहरूको परामर्श शुल्क बढाउने निर्णय समेत गरेको छ ।

बैठकले आजैको मितिदेखि लागू हुने गरी ओपीडीमा काम गर्ने चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरेको छ । अफिन र चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माघ ४ गते भएको सहमतिका आधारमा शुल्क बढाएको जनाएको छ ।

‘२०७१ सालदेखि चिकित्सकको शुल्क बढेको थिएन, सबैको शुल्क बढ्दा चिकित्सकको शुल्क नबढेर चिकित्सकहरू हैरान थिए’ डाक्टर कार्कीले भने, ‘ नेपाल राष्ट्र बैङ्कको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसको आधारमा चिकित्सकको परामर्श शुल्क निर्धारण गरेका हौं, यो वैज्ञानिक छ ।’