जम्बो मन्त्रीमण्डल बनाउनुको कुनै अर्थ छैन : डा. महत

५ आश्विन २०७४, बिहीबार १३:०९

असोज ५, काठमाडौं । पुर्व अर्थमन्त्री एवम् काङ्ग्रेस नेता रामशरण महतले मन्त्रीमण्डल विस्तारप्रति असन्तुष्ट जनाएको छ ।

निर्वाचन हुन २ महिना बाँकि हुदाँ पनि भागबण्डाका नाममा जम्बो मन्त्रीमण्डल बढाउदै लैजानुको कुनै अर्थ नभएको बताए । बिहिबार अन्तर्राष्ट्रिय शान्ति दिवसको अबसरमा नेपाल युवा परिषद्ले राजधानीमा आयोजना गरेको सेमिनारमा बोल्दै काङ्ग्रेस नेता महतले सरकार फेरेनि बित्तिकै आफु अनुकुल कर्मचारी सरूवा बढुवा हुने गरेकोले विकास र समृद्धिको बाटो बन्द भएको धारणा राखे।

सरकार स्थिर हुन नसक्दा विकास निर्माणले गति लिन नसकेको बताउदै नेता महतले भने– हामीले कहिले स्वीजरल्याण्ड, सिङ्गापुर बनाउँछु भनेर भाषण मात्रै गरेर विकास सम्भव छैन, योजना अनुसार देशको आर्थिक अवस्था अनुसार अगाडि बढ्नुपर्छ । चीन र भारत विकास हुनुको पछाडि शान्ति, स्थायित्व, स्थीर सरकारले गर्दा नै विकासको फड्को मारेको धारणा राखे । नेता महतले संविधानले सबै नागरिकको अधिकार ग्यारेन्टी गरेको धारणा राख्दै संविधानमा अधिकार सुनिश्चित भएपनि त्यसलाई व्यवहारमा लागु गर्न चुनौति रहेको स्पष्ट पारे।

 

देशको आर्थिक विकासका लागी युवा जनसंख्यालाई विकासको क्षेत्रमा र निर्णायक तहमा ल‌ैजानु अहिलेको आवश्यकता रहेको पनि उल्लेख गरे । कार्यक्रममा वक्ताहरूले युवालाई सहि कार्यदिशामा लगाउने र रोजगारी दिन नसक्दा अपाराधिक गतिविधिमा युवा लागेको बताएका छन् । यस्ता गलत प्रविधिलाइ हटाउनुपर्ने बताउदै उनीहरूले राजनीतिक दललाई गुण्डाले र गुण्डाले राजनीतिक दललाई चलाउने गरेकोले शान्ति र समृद्धि हुन नसकेको बताए । उनीहरूले योजनाबद्ध रूपमा युवाहरूलाई परिचालन गर्नुपर्ने बताएका छन् ।