घुस लिएको आरोपमा बैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ

२९ कार्तिक २०७४, बुधबार ०९:१०

कात्तिक २९, काठमाडौं ।

काठमाडौं वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन्। पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो। महानिर्देशक पाण्डेलाई घुस लिइरहेको बेला पक्राउ गरिएको आयोगका सहप्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए।

रिजालले भने,‘घुस लिइरहेको अवस्थामा हामीले उहाँलार्इ नियन्त्रणमा लिएका हौं।’ अख्तियारको विशेष टोलीले मंगलबार विभागका शाखा अधिकृत कृति वल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो। पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए।

मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसीलाई पक्राउ गरिएको थियो। वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।