कार्यतालिका अगावै पहिलो चरणको मतपत्र छापियो, दोस्रो चरणको छाप्न सुरु

२१ कार्तिक २०७४, मंगलवार ०१:०४

कात्तिक २१, काठमाडौँ । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाका लागि मतपत्र छपाइ सकिएसँगै दोस्रो चरणका लागि मतपत्र छपाइ सुरु भएको समाचार आजको कान्तिपुरमा छापिएको छ ।

पहिलो चरणमा हुने ३२ जिल्लाको मतपत्र छपाइ सकिएको हो । छापिएका मतपत्रलाई निर्वाचन आयोगले धमाधम सम्बन्धित जिल्लामा पठाउन थालेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतपत्रसहितका निर्वाचन सामग्री कात्तिक २५ भित्र सम्बन्धित जिल्लामा पठाइसकिने बताए ।

आयोगको कार्यतालिकामा कात्तिक १० बाट एउटै पानामा मतपत्र छाप्ने भए पनि सर्वोच्चको आदेशका कारण १२ गतेबाट अलगअलग मतपत्र छाप्न थालिएको थियो । अलगअलग छाप्नुपर्ने भएपछि थप समय लाग्ने अनुमानविपरीत एक दिनअगावै सबै मतपत्र छापिएको छ । पहिलो चरणको मतपत्र २० गतेसम्म छापिसक्ने र दोस्रो चरणको २१ गतेदेखि छाप्ने कार्यतालिका थियो तर एक दिनअगावै पहिलो चरणको छाप्ने काम सकिएपछि दोस्रो चरणको छाप्न थालिएको छ ।