काठमाडौं उपत्यकामा शुक्रबारदेखि स्मार्ट टेलिकमको फोरजी

९ कार्तिक २०७४, बिहीबार ०४:०७

कार्तिक ९, काठमाडौं। स्मार्ट टेलिकमले शुक्रबारदेखि काठमाडौं उपत्यकामा चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सञ्चालनमा ल्याउने भएको छ । स्मार्ट टेलिकम नेपाल टेलिकम र एनसेलपछि मुलुकमा फोरजी सञ्चालनमा ल्याउने तेस्रो दूरसञ्चार कम्पनी बन्ने छ ।

शुक्रबारदेखि स्मार्ट टेलिकमको फोरजीको ‘सफ्ट लन्च’ गर्न लागेको कम्पनीका प्रमुख प्रशासन अधिकृत सजिन राजभण्डारीले बताए । ‘प्राविधिक बिषय भएकोले शुक्रबार फोरजीको सफ्ट लन्च गर्न लागिएको छ,’ राजभण्डारीले भने, ‘एक महिनापछि पूर्णरुपमा सञ्चालन गरिने छ ।’ उनका अनुसार एक महिनासम्म परीक्षणकालमा राख्ने र त्यसपछि पूर्ण रुपमा सञ्चालनमा आउने छ । आजको नागरिकमा खबर छ ।