कांग्रेसको घोषणापत्रः वृद्धभत्ता बढाउनेदेखि राज्यलाई भ्रष्टाचारमुक्त बनाउनेसम्म

१३ कार्तिक २०७४, सोमबार १५:५३

कात्तिक १३, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा कम्युनिष्ट गठबन्धनप्रति आक्रोश व्यक्त गरेको छ । मंगलबार सार्वजनिक गर्न लागिएको घोषणापत्रमा एमाले र माओवादी केन्द्रबीच बनेको गठबन्धनप्रति आक्रोश व्यक्त गरिएको छ ।

“मधेशको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ,” कांग्रेसले आफ्नो घोषणापत्रमा भनेको छ, “मधेश र पहाडका बीच मतभेद चर्काउने, मधेशी समुदाय र पहाडी समुदायको राष्ट्रियताको भावनालाई बेग्लाबेग्लै तराजुमा जोख्ने र प्रचार गर्ने एमालेको अतिवादी विचारले देशको एकता र सामाजिक सद्भाव, संविधानको कार्यान्वयन र लोकतान्त्रिक अभ्यासलाई ठूलो क्षति पुर्याएको छ ।

संविधान संशोधनको शान्तिपूर्ण र मध्यमार्गी बाटो अवरुद्ध गर्ने, तथा कम्युनिष्ट वर्चस्वको एकदलीय एवं निरंकुश शासनका लागि एमालेको नेतृत्वमा कम्युनिष्ट गठवन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा पर्दै गएको छ ।” त्यसैगरी कम्युनिष्ट गठबन्धनले संविधान संशोधन गरेर नेपालमा नयाँ द्वन्द्व सिर्जना गर्न खोजेको आरोप छ ।

“अहिले कम्युनिष्ट गठबन्धनको नाममा नेकपा (एमाले) र माओवादी (केन्द्र) कम्युनिष्ट वर्चस्वको सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, त्यसबाट प्राप्त हुने कथित राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नारा उचालेर देश र जनतालाई भ्रममा पार्न खोज्दैछन् । वस्तुत ः संसदमा कम्युनिष्टहरुको वर्चस्वले स्थिरताको ग्यारेण्टी गर्दैन । यसैगरी एउटै व्यक्तिमा केन्द्रित कार्यकारी अधिकार भएको राष्ट्रपतीय प्रणालीले पनि स्थिरताको ग्यारेन्टी गर्न सक्दैन । यस्तो अवस्था देशलाई केवल निरंकुश कम्युनिष्ट शासनतर्फ लैजाने तथा मुलुकमा लामो समयसम्म द्वन्द्व सिर्जना गर्ने एउटा खतरनाक प्रयोग मात्र हुन सक्छ ।”

नेकपा माओवादी केन्द्रलाई अवसरवादी प्रवृत्ति भनेको छ ।

“देशको राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका बेला नेकपा माओवादी (केन्द्र) ले पनि दृढ संकल्प र स्पष्ट लोकतान्त्रिक बाटो पहिल्याउन सकेन । माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त भएर दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो नेकपा माओवादी (केन्द्र) भित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति प्रकट हुने गरेको छ ।

नेकपा माओवादी (केन्द्र) को यो ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको छ । सहमति र संवादको राजनीतिबाट परिणाम निकाल्ने प्रक्रियालाई समेत कमजोर बनाएको छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको छ ।

पहिलो संविधानसभामा ठूलो पार्टीको भूमिका र सरकार नेतृत्वको अवसर पाएर पनि नेकपा माओवादी (केन्द्र) को परिचय संविधान निर्माण गर्न नसक्ने, दोस्रो संविधानसभामा संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी र अवसर पाएर पनि संविधानसभामा ध्वंस मच्चाएर संविधान सडकबाट लेख्न उद्दत हुने, कहिले एमालेसँग सरकार बनाउने र कहिले कांग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टीको रुपमा बन्दै आएको छ ।

एउटा विचार र दर्शनमा आबद्ध भएर एघार वर्ष सशस्त्र द्वन्द्वमा होमिएको सिङ्गो माओवादी पार्टी विगत एक दशकमा टुक्रा–टुक्रा भएको छ । आफू निरन्तर विभाजित भइरहेको यही माओवादी (केन्द्र) र नेकपा (एमाले) अब एउटै कम्युनिष्ट पार्टी बनाउने नारामा अहिलेएक अर्कालाई धृतराष्ट्रको अंगालोमा बाँध्नेगरी क्रियाशील भएका छन् ।”