एमालेलाई सिद्धाउन अन्तराष्ट्रिय शक्तिहरु सलबलाउन थाले : सचिव भट्टराई

२५ भाद्र २०७४, आईतवार १४:२५

भदौ २५, ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टीलाई सिद्धाउन अन्तराष्ट्रिय शक्तिहरुले चलखेल गरेको दाबी गरेका छन् ।

प्रदेश २ को स्थानीय चुनावमा एमालेबाट उम्मेदवार भएका तथा हुन चाहनेहरुलाई भारतबाट समेत एमालेबाट किन उठेको भन्दै प्रभाव पार्न खोजेको बताउँदै भट्टटराईले यसले एमालेमाथि भइरहेको षड्यन्त्रलाई प्रष्ट पारेको बताए ।

ताप्लेजुङमा आयोजित एक कार्यक्रममा एमाले सचिव भट्टराईले आफ्नो पार्टीविरुद्ध सुरुमा नेपालका शक्तिहरुमात्रै लागे पनि अहिले बाहृय शक्तिहरु पनि लागि परेको दाबी गरे । कांग्रेस माओवादी गठबन्धन पनि उनीहरुले चाहेर नभई बाहृय हस्तक्षेपमा बनेको उनले बताए ।

सचिव भट्टराईले प्रदेश २ को स्थानीय चुनावमा एमालेले १ सय ३६ मध्ये आधा भन्दा बढि स्थानीय तहमा जित्ने बताए ।