आर्सनल इंग्लिश फुटबल लिग कप (इएफएल) फुटबलको क्वटर फाइनलमा प्रवेश

८ कार्तिक २०७४, बुधबार ०२:२९

कात्तिक ८, काठमाडौं । आर्सनल इंग्लिश फुटबल लिग कप (इएफएल) फुटबलको क्वटर फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको चौथो चरणमा च्याम्पियनसिप क्लब नर्विच सिटीलाई अतिरिक्त समयमा २ – १ ले पराजित गर्दै आर्सनल क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन दुवै गोल एडवार्ड एनकेतियाहले गरे । सब्सीच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेर १८ बर्षिय एडवर्डले आर्सनललाई जित दिलाएका हुन् । नर्विचका जोश मर्फीले एक गोल गरे ।

 

इमिरेट्स स्टेडियममा खेलको ३४ औं मिनेटमा मर्फीको गोलबाट नर्विचले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १ – ० ले पछि परेको आर्सनलले खेलको ८५ औं मिनेटमा बराबरी गोल फर्कायो । नेल्सन ओलिभेराको स्थानमा मैदान प्रवेश गरेका केहि मिनेटमा एडवार्डले गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेलको ९० मिनेट १ – १ गोलको बराबरी सकियो र खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा एडवार्ड नै नायक बने ।

 

अतिरिक्त समयको ९६ औं मिनेटमा एडवार्डले गोल गर्दै आर्सनललाई २ – १ को महत्वपूर्ण जित दिलाए । आर्सनलको जितमा नायक बनेका एडवार्डको यो क्लबको लागि दोस्रो खेल हो । इन्ग्लिश यू – १९ टोलीका सदस्य रहेका एडवार्ड आर्सनलबाट यसअघि युरोपा लिग अन्तर्गत बोरिसोभ क्लबविरुद्ध खेलेका थिए । गत बर्षमात्र आर्सनल आएका एडवार्डले चेल्सीको युवा टोलीबाट फुटबल करियर सुरु गरेका थिए । एजेन्सी