आज ३२ जिल्लामा निर्वाचन

१० मंसिर २०७४, आईतवार ०१:०७

मंसिर १०, काठमाडौं । पहिलो चरणको निर्वाचनका लागि ३२ जिल्लामा आज आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा ७ सय २ जना उम्मेद्वारहरुको चुनावी मैदानमा छन् ।

 

प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्रमा १६ जना महिला सहित २ सय ८२ जना र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा २० जना महिलासहित ४ सय २० जना उम्मेद्वार चुनावी मैदान प्रतिस्पर्धामा छन् । सो संख्यामध्ये प्रत्यक्षतर्फको निर्वाचनबाट प्रतिनिधिसभाका लागि ३७ जना र प्रदेशसभामा ७४ जना निर्वाचित हुनेछन् । आज प्रदेश नं. १ का सातवटा, प्रदेश नं. ३ का ६ वटा, प्रदेश नं. ४ का ६ वटा, प्रदेश नं. ५ का २ वटा, प्रदेश नं. ६ का ७ वटा र प्रदेश नं. ७ का ४ वटा जिल्लामा निर्वाचन हुनेछन् । यस निर्वाचनबाट संविधानले परिकल्पना गरेअनुरुपको संघ र प्रदेशको संरचना तयार हुने अपेक्षा गरिउको छ ।

आज निर्वाचन हुने प्रदेश १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटङमा रहेका छन् । त्यसै गरी प्रदेश ३ को नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, र रामेछाप, प्रदेश ४ को मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, र गोरखा, प्रदेश ५ को रुकुम –पूवी भाग) र रोल्पा, प्रदेश ६ को रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, र डोल्पा त्यसै गरी प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी रहेका छन् ।

निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि निर्धारण गरिएका मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा भएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले शनिवार पत्रकार सम्मेलनमा जानकारी दिए ।