आज ‘प्रचण्ड’ को जन्मदिन, भूमिगत अवस्थामा नखुलेको रहस्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को आज जन्मदिन हो । प्रचण्डको जन्म विसं २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको हो ।

पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिए । प्रचण्डले २०२६ मा चितवनको नारायणी विद्या मन्दिर मावि शिवनगरबाट एसएलसी उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आईएससी पूरा गरी २०३१–२०३३ मा रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी र एमपीएसम्मको अध्ययन गरेका छन् ।

कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका प्रचण्डको विसं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम थियो ।

विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइ सराई गरेका प्रचण्डको विसं २०२६ वैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उनका तीन छोरी र एक छोरा थिए ।

तीमध्ये एक छोरी र छोरा प्रकाशको निधन भइसकेको छ । उनी नारायणी विद्या मन्दिर मावि शिवनगर–२०२९ साल, डण्डा माविनवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा युएसएडमा सेवारत भएका थिए ।

विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए।

उनी विसं २०३८ मा क्षेत्रीय व्यूरो सदस्य एवम् अखिल नेपाल युवक संघको केन्द्रीय महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।

विसं २०४१ मा नेकपा ९मशाल०को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा ९एकताकेन्द्र०को महामन्त्री भए ।

यसैगरी २०५१ मा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे ।

२०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए । विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौंमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए ।

२०६५ साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए । २०६९ मा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष भने ।

२०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भए । २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भए । साथै उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसकेका छन् ।

हाल उनी नेकपाका अध्यक्ष छन् । अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौंन्दर्यर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । (दैनिक अनलाइनबाट साभार)


प्रकाशित | २०७७ मंसिर २६ प्रकाशित ०८:२४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ