अमेरिकी विशेष विमान नेपाली आकाशमा घुम्दै

२ मंसिर २०७४, शनिबार १४:५२

मंसिर २, काठमाडौं । ललितपुरको भट्टेडाँडामा तयार गरिएका दुई वटा राडारसहित देशभर सञ्चालनमा रहेका विभिन्न उड्ययन सम्बद्ध उपकरणहरुको परीक्षण शनिबारबाट सुरु भएको छ ।

अमेरिकाबाट आएको विशेष विमान र अमेरिकी तथा जापानी प्राविधिक टोलीले यस्तो परीक्षण सुरु गरेका हुन् ।  यसका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य केही महत्वपूर्ण विमानस्थलमा पनि उडान÷अवतरण प्रभावित भएको छ । तालिकाभन्दा ढिला गरी उडान भएपछि विभिन्न गन्तव्यमा हिँडेका यात्रु लामो समय विमानस्थलमा रोकिएका छन् । अब आइतबार र सोमबार पनि उडान÷अवतरण केही उडानहरू प्रभावित नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हवाई उडानलाई सुरक्षित गराउने गरी नयाँ राडार जडान गरिएको हो ।

 

नयाँ राडार र उड्डयनसम्बद्ध उपकरणको परीक्षण गर्न अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनको विशेष जहाजसहितको ६ जनाको टोली नेपाल आएको छ । जापानबाट पनि ४ जनाको प्राविधिक टोली आएको छ । यसैबाट नयाँ राडरसहित देशभरका उड्डयन उपकारण र सिस्टमहरुको क्यालिब्रेसन गरिनेछ ।  सँगै देशभरका हवाई उडान सम्बन्धी विभिन्न उपकारणहरुको कार्यदक्षताबारे पनि अध्ययन हुने भएको छ । यो विमान विभिन्न विमानस्थलमा पुग्नेछ । त्यहाँ अतरण र उडान गर्दै उपकरण र सिस्टमहरुको परीक्षण गर्नेछ ।  प्राविधिक टोलीले सुरक्षाका हिसाबले कुन विमानस्थलको उपकरणहरु कुन हालतमा छन् भनेर रिपोर्ट पनि दिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

नेपालमा हुने हवाई दुर्घटना घटाउन नयाँ राडार सहयोगी हुने विश्वास छ । जापानी सहयोग नियोग (जाइका)को सहयोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ राडार स्थापना गरेको हो ।  यो राडारबाट नेपाली आकाशमा आएका विमानहरुको स्पिड, उडिरहेको उचाईसहितका जानकारी लिन सकिनेछ । भट्टेडाँडाको राडार सञ्चालनमा आएपछि नेपालको कुल भूभागको तीन चौथाइ हिस्सामा राडार कभरेज पुग्नेछ ।  यो परियोजनामा जापानले ३ अर्व ५५ करोड ९० लाख येन खर्च गरेको छ ।