अमेरिकाको ३९ राष्ट्रपतिलाई छहारी दिएको रुख ढाल्ने तयारी

१३ पुष २०७४, बिहीबार ०४:१३

पुस १३, वासिंटन । अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउस परिसरमा दुईसय वर्ष पुरानो एउटा रुख चाँडै ढालिने भएको छ ।

ज्याक्शन मंगोलिया नाम गरेको सो रुखलाई सन् १८२९ देखि १८३७ सम्म अमेरिकाको राष्ट्रपति रहेका एन्ड्र्यु ज्याक्शनले रोपेका थिए । उनले आफ्नी पत्नीको सम्झनामा सो रुख रोपेको बताइन्छ ।  यो रुख ह्वाइट हाउसका लागि खास मानिदैं आएको छ । यही रुखको छहारीमा कयौं कार्यक्रम आयोजना भएका छन् । सन् १९२८ देखि १९८८ सम्म २० दरको अमेरिकी डलरमा यो रुखको तस्वीर अंकित थियो ।  रुख निकै बुढो भएको र यसका कारण सुरक्षाको जोखिमसमेत बढेको भन्दै यसलाई काट्ने निधो भएको अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार अमेरिकी प्रथम महिला मेलेनिया ट्रम्पले यो रुखको ठूलो हिस्सालाई हटाउन निर्देशन दिएकी हुन् ।

 

अमेरिकी राष्ट्रपतिको हेलिकोप्टर उडान र अवतरण गर्ने स्थान नजिकै यो रुख छ । हेलिकोप्टर उडानका क्रममा निस्कने हावाबाट पनि यो रुख ढल्न सक्ने भन्दै यसलाई हटाउन थालिएको हो । यो रुखको ठाउँमा अर्को रुख रोप्ने अधिकारीहरुको भनाइ छ ।  यो रुखले ह्वाइट हाउस परिसरमा जरा गाडेदेखि हालसम्म अमेरिकामा ३९ राष्ट्रपतिले शासन गरिसकेका छन् । यसबीचमा अमेरिकाले गृहयुद्ध र दुई विश्वयुद्धसमेत झेलेको छ । (एजेन्सी)