एमालेको महाधिवेशन: आज देशभरि प्रतिनिधि छनोट हुँदै

१४ मंसिर २०८२, शनिबार ११:०६

११औँ महाधिवेशनका लागि नेकपा (एमाले)ले आज देशैभरि प्रतिनिधि छनोट गर्दै छ । एमाले केन्द्रीय कार्यालयका अनुसार ११ मंसिरमा सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ ।

केही निर्वाचन क्षेत्रमा  सहमति जुटेको छ । सहमति नजुटेका क्षेत्रहरूमा शनिबार बिहान ८ बजेदेखि निर्वाचन हुँदै छ । निर्वाचनको समयमा अधिकांस क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरूले अनुकूलताअनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनकाअनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवाहरूसहित करिब २ हजार प्रतिनिधि छनोट हुँदै छन् । यस्तै, प्रवास, जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनोट हुनेछन् । मनोनित एमालेको ११औँ महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनोटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यसअघि पनि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ ।

एमालेको १५ कात्तिकमा बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्नेछ । यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्षभन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्नेछ । यस्तै, प्रति ८०० सदस्य एक प्रतिनिधि, जसमा महिला निर्वाचित गर्ने विधि तय गरिएको गौतमले जानकारी दिए ।

दलितका लागि प्रति ५०० सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ । ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन् । जनसंगठनबाट प्रतिजनसंगठन पाँच जनाको प्रतिनिधित्व रहनेछ । महासंघीय ढाँचामा रहेका जनसंगठनबाट भने ७ जनाको प्रतिनिधित्व रहनेछ ।

विभाग र कार्यालयबाट १–१ जनाको प्रतिनिधित्व रहनेछ। प्रवासबाट महादेशअनुसार ५ जनाको प्रतिनिधित्व रहनेछ। केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन् । त्यस्तै, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद्‌बाट २५ जना प्रतिनिधि रहनेछन् । यी कमिटीबाट जम्मा ४६४ जना स्वतः प्रतिनिधि हुनेछन् ।

एमालेको कुल संगठित सदस्य संख्या ६ लाख ६७ हजार ६३० सदस्यमध्ये प्रदेशबाट ४५, प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट करिब ९७०, विशेष जिल्लाबाट ४७, दलितबाट ८१, ट्रेड युनियनबाट ४९, प्रवासबाट, केन्द्रीय विभाग र कार्यालयबाट, जनसंगठनसहित गरी अनुमानित १ हजार ९०० भन्दा बढी प्रतिनिधि रहनेछन् । ५ प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ । यी सबै जोड्दा कुल २ हजार १०० भन्दा बढी प्रतिनिधि रहने अनुमान गरिएको छ । तर, सचिवालयको पछिल्लो निर्णयले केही प्रतिनिधि थप हुने गरी पार्टी सदस्य संख्याको अनुपात घटाइएको गौतमले जानकारी दिए । उनका अनुसार प्रतिनिधि छनोटको यो विधि सम्बन्धित कमिटीमा पठाइसकिएको छ ।