
काठमाडौं। कुलमान घिसिङले आजदेखि फेरि नेपाल विद्युत प्राधिकरणको नेतृत्व समाल्नु हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्त गरेको हो ।
सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्त गरेपछि उर्जा मन्त्रालयले उहाँलाई आज नियुक्तिपत्र दिने तयारी गरेको छ । नियुक्तिपत्र बुझेपछि उहाँले आजैबाट प्राधिकरणको कार्यभार समाल्ने तयारी गर्नुभएको छ ।
मुलुकमा लोडसेडिङ घटाएर चर्चामा आउनु भएका घिसिङ ४ वर्षे कार्यकाल पूरा गरेर गएको भदौ २०७७ भदौमा प्राधिकरणबाट बिदा हुनुभएको थियो । घिसिङको अवधि सकिएपछि केपी ओली नेतृत्व सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव० सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आयोगको गठन आदेशमा समेत संशोधन गरिएको छ ।
सरकारले शाक्यले अहिले प्राधिकरणमा पाउँदै आएको तलब सुविधा नघट्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो । यसका लागि अर्थ मन्त्रालयले पनि सहमति दिएको छ । शाक्यको विज्ञतालाई मध्यनजर गर्दै उहाँलाई विदा नगरी सरकारको जल तथा ऊर्जा नीति निर्माणमा शाक्यको अनुभवलाई उपयोग गर्ने योजना सरकारले बनाएको हो । शाक्यले पनि सरकारले आफूलाई ससम्मान दिने अर्को जिम्मेवारीमा जान तयार रहेको बताउँदै आउनु भएको छ ।
