ट्रम्पलाई सुनले बनेको ट्वाइलेटको अफर

१४ माघ २०७४, आईतवार १०:४२

माघ १४, काठमाडौं । (एजेन्सी)

न्युयोर्कको प्रसिद्ध गुगेनहाइम म्युजियमले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई मन परेको पेन्टिङ दिन अस्वीकार गरेको छ ।

ट्रम्पले म्युजियमसँग भ्यानगगको पेन्टिङ “ल्यान्डस्केप विद स्ना”े मागेका थिए । पेन्टिङ नदिएर म्युजियमले ह्वाइट हाउसका लागि ट्रम्पलाई सुनले बनेको ट्वाइलेट दिने अफर गरेको छ ।

द वाशिङटन पोस्टको रिपोर्टअनुसार, म्युजियमले पेन्टिङ दिन नसकिएकोमा माफी माग्दै १८ क्यारेट सुनबाट बनेको ट्वाइलेट दिने बताएको छ ।

सुनको ट्वाइलेट लिने कि नलिने भनी ट्रम्प प्रशासनले स्पष्ट पारेको छैन ।

म्युजियमले भ्यानगगको पेन्टिङ आफ्नो विशेष संकलनको हिस्सा भएको र विशेष अवसरमा मात्र म्युजियमबाहिर केही समयका लागि लगिने बतायो ।

सुनको ट्वाइलेटलाई अमेरिका नाम राखिएको छ । म्युजियम जाने जोकोही पनि ट्वाइलेटको सीटमा बस्न पाउँछ ।

इटालीका कलाकार क्याटिलेनले यो ट्वाइलेट बनाएका हुन् र यो फरक फरक टुक्राहरू जोडेर बनाइएको हो । ट्वाइलेट बनाउन धेरै मेहनत गरिएको हो । यसलाई बनाउन कति पैसा लाग्यो भनी खुलाइएको छैन ।

यसको मूल्य चाहिँ १० लाख डलरभन्दा बढी छ ।

गुगेनहाइम म्युजियममा अरू पनि गजबका कुरा राखिएका छन् ।